पर्वत : पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्र रहेका आधारभूत तहका विद्यालयहरूको लागि दुई इमिस दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
देशभरका विद्यायहरुलाई एउटै प्रकारको वेब बेसमा रहेको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीको बारेमा अभिमुखीकरण गर्नका लागि कक्षा १ देखि ८ सम्म सञ्चालित विद्यालयहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । दोस्रो चरणमा सुरु भएको यो तालिममा कुश्मा नगरपालिकाको वडा नं. १ देखि ९ सम्मका विद्यालयका करिमब ३० जना शिक्षक तथा विद्यालय कर्मचारीहरुको सहभागिता रहेको छ ।
तहगत रूपमा आयोजना हुँदै जाने अभिमुखीकरणको लागि पहिलो चरणमा नगरपालिकाभित्र रहेका २५ वटा माध्यमिक तहका विद्यालयका इमिस प्रणालीमा काम गर्दै आएका शिक्षक तथा कर्मचारीहरूलाई समावेश गरेर कार्यक्रम सञ्चालन गरिएको थियो ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत दीपक सुवेदीका अनुसार अभिमुखीकरण कार्यक्रममा विद्यालयले भर्नुपर्ने प्रोफाइल तथा विद्यालयका विवरणहरू अद्यावधिक, विद्यार्थीहरूको तथ्याङ्क व्यवस्थापन, परीक्षा व्यवस्थापन तथा सञ्चालन, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको अद्यावधिक विवरण, लगायतका विषयमा सहभागीहरुकाबीच आपसी छलफल र अनुभव आदानप्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले शिक्षा क्षेत्रलाई सङ्घीय सरकारबाटै बेवास्ता गरिँदा शैक्षिक समस्याहरू आइरहेको बताउनुभयो । कुश्मा नगरपालिकाले गरेका कामहरू अन्य पालिकाहरूले अनुसरण गर्ने समेत पछ्याउने भएकाले कुश्मा नगरपालिकाका शिक्षकहरू अरूका लागि उदाहरण भएर नियम अनुसार चल्नुपर्ने उहाँको भनाइ छ । शिक्षकहरूको सरुवाका विषयमा बोल्दै उहाँले विषय नै परिवर्तन गरेर आफू अनुकूलको शिक्षक ल्याउने र पठाउने काममा कोही पनि लाग्न नहुने शाखा प्रमुख तिवारीले बताउनुभयो । कार्यक्रममा बोल्दै सामाजिक विकास समिति संयोजक तथा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले पछिल्लो समय विज्ञान र प्रविधिले निकै फड्को मार्दै गइरहेको बेलामा शिक्षकहरू पनि सोही अनुसार अद्यावधिक हुनुपर्ने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा शिक्षा अधिकृत दीपक सुवेदी, नारायण माध्यमिक विद्यालय कुश्माका शिक्षक संजय रेग्मी र जनता सुदर्शन माध्यमिक विद्यालय ठूलीपोखरीका शिक्षक दामोदर पौडेलले सहजीकरण गर्नुभएको छ । सहजीकरणमा बोल्दै यस्तै शिक्षा अधिकृत दीपक सुवेदीले इमिसमा अद्यावधिक हुन नसकेका विद्यालयहरू यो प्रणालीबाट नै बाहिरिने र राज्यको सुविधाबाट वञ्चित हुने भएकाले सबै विद्यालयहरूले आफ्नो काम तोकिएकै समयमा पूरा गर्न अनुरोध गर्नुभयो ।