शनि, माघ १०, २०८२
Sat, January 24, 2026

गण्डकीका नव उद्यमीहरुको नतिजा सार्वजनिक, गैँडाकोटको रिजाल सेनेटरी प्याड उद्योग प्रथम

जेष्ठ २८, २०८१

पर्वत : गण्डकी प्रदेशको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम नतिजा प्रकाशन भएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते सूचना प्रकाशन गरेर नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा प्रस्ताव पेस गरेका थिए । उद्यमीहरूले गत जेठ दुई गते आफ्नो उद्यमको बारेमा प्रस्तुतीकरण समेत गरेपछि लिएको अन्तरवार्ताका आधारमा नतिजा प्रकाशन भएको हो ।

मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–५ मा रहेको रिजाल सेनेटरी प्याड उद्योगका वीरेन्द्र रिजाल पहिलो, कावासोती नगरपालिका–७ मा रहेको शिव शक्ति एग्रो फर्मका सुदिप दुवाडी दोस्रो र स्याङ्जाको हरिनास गाउँपालिका–२ मा रहेको मग्याम कृषि तथा पशु फर्म प्रा.लि.का आभास सिग्देल तेस्रो बनेका छन् ।

यो कार्यक्रममा सहभागिता जनाउन मन्त्रालयले प्रदेश भित्रका १६ देखि ४० वर्ष उमेर समूहभित्रका युवालाई आवेदन दिन आह्वान गरेको थियो। लघु तथा घरेलु उद्यम र कृषिमा आधारित उत्पादनमूलक उद्यम÷व्यवसायलाई प्राथमिकतामा राखेर युवा उद्यमीहरूको सूची तयार पारिएको थियो । यसमा छनोट हुनका लागि घर जग्गा बाहेक बढीमा बिस लाख रुपैयाँसम्मको स्थिर पुँजी भएको हुनुपर्ने, उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको हुनुपर्ने, वार्षिक कारोबार एक करोड रुपैयाँभन्दा कम रहेको हुनुपर्ने, इन्जिन उपकरण वा मेशिनको प्रयोग गरेको भएमा विद्युतीय ऊर्जा इन्धन वा अन्य तेल इन्जिनको क्षमता बिस किलोवाट भन्दा कम रहेको हुनुपर्ने भनिएको थियो ।

यस्तै घरेलु उद्यम परम्परागत सीप र प्रविधिमा आधारित भएको हुनुपर्ने, श्रममूलक र खास सीप मा स्थानीय कच्चा पदार्थ, स्थानीय प्रविधि कला तथा संस्कृतिमा आधारित इन्जिन उपकरण वा मेसिन प्रयोग गरेको भएमा बढीमा पचास किलोबाटसम्मको क्षमताको विद्युतीय ऊर्जा प्रयोग भएको हुनुपर्ने भनिएको थियो ।

गण्डकी प्रदेश सरकारले युवाहरूको क्षमता विकास तथा परिचालनबाट उनीहरूको व्यक्तिगत उद्यम विकासको साथसाथै प्रदेश र राष्ट्रकै समृद्धिमा मद्दत पुग्ने बताएको छ । गण्डकी प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना र वार्षिक नीति तथा कार्यक्रमले तय गरेको युवा विकास तथा परिचालन सम्बन्धी उद्देश्य समेत हासिल गर्न युवा उद्यम तथा स्वरोजगार लगायतका कार्यक्रमहरु राखिएका छन् । स्वदेशमै स्वरोजगार मूलक गतिविधिमा संलग्न युवाहरूले उत्पादन तथा प्रशोधन जस्ता उद्यम सञ्चालन गरिरहेका वा गर्न चाहने व्यक्तिगत अथवा सामूहिक फर्म वा संस्थाहरूको उत्पादन तथा प्रशोधनमा आधुनिकीकरण गर्न सहयोग पु¥याउन आवश्यक रहेको सरकारका विभिन्न योजनाहरूमा उल्लेख छन् ।

नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमले गण्डकी प्रदेशका उद्यमशील युवाहरूलाई व्यक्तिगत वा सामूहिक रूपमा स्वरोजगारी सिर्जना गर्ने तथा बस्तुको उत्पादन र प्रशोधनमा आधुनिकीकरणका लागि सहयोग पु¥याउने अपेक्षा छ ।

पुरस्कृत हुने यी उद्यमी युवाहरूले राष्ट्रिय युवा परिषद्बाट आयोजना हुने सङ्घीय स्तरको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा प्रतिस्पर्धीको रूपमा सहभागिता जनाउने पाउने छन् ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive