पर्वत : वनजन्य वस्तुलाई उद्यमसँग जोड्न सके मुलुकको बेरोजगार समस्या हल गर्न सकिने सरोकारवालाले बताएका छन् । कुश्मा नगरपालिकामा बनजन्य उद्यमको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख रामचन्द्र जोशीले मुलुकको बेरोजगार समस्या अन्त्य गर्न वन्यजन्य वस्तुलाई जोडेर उद्यम संचालन गर्नुपर्ने बताए । उनले वन ऐनको जटिलताका कारण वनजन्य पदार्थ खेर गरेको बताउँदै त्यसका लागि वन सँग सम्वन्धित निकायहरुले ध्यानदिनुपर्ने बताए । सामुदायिक वनबाट उत्पादित काठजन्य बस्तुलाई उपयोग गरी रोजगारी सिर्जना गर्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै मेयर जोशीले वनमा आधारित उद्यम सञ्चालनका लागि कुश्मा नगरपालिकाले जोड दिएको बताए ।
‘नगरपालिकाले उद्यमशिलतालाई जोड दिँदै आएको छ । युवाहरुलाई वनजन्य उद्यमशिलतामा जोड्न सके मुलुकले छिट्टै फड्को मार्ने थियो,’ उनले भने । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले नेपालमा वनलाई उद्यमसँग जोड्न नसक्दा बाह्य सामानहरू आउने गरेको बताउँदै वन सम्पदामा धनी रहेको देशमा अरू देशबाट फर्निचर आयात हुन दुःखपूर्ण कुरा रहेको बताए । उनले सामुदायिक वन क्षेत्रमा रहेको काठ तथा गैरकाष्ठलाई आधुनिक प्रविधिको माध्यमबाट बजारको आवश्यकता अनुसार कच्चा पदार्थ लगायत तयारी फर्निचर लगायत उत्पादन गरी बिक्री वितरण गर्ने योजना नगरपालिकाले वनाएको बताए । कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले नगरपालिकाले उद्यमशिलता धेरै फड्को मारेको बताईन । नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम ल्याउन लागेको बताउँदै वडातहबाटै उद्यमशिलताका कार्यक्रम समावेश गरि योजना ल्याउन वडा अध्यक्षलाई आग्रह गरिन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्याप नारायण शर्मा, सामुदायिक वन उपभोत्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदी लगायत, कुश्मा नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र सरोकारवाला व्यक्तिले सामुदायिक वनको संरक्षणसँगै त्यसबाट उद्यमशीलताको विकासमा पनि ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सामुदायिक वन उपभोत्ता महासंघ नेपालका पूर्व अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सामुदायिक वन उपभोत्ता महासंघ नेपाल कुश्मा नगरपालिकाका अध्यक्ष कुमार सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सामुदायिक वन उपभोक्ता महासंघ पर्वतको अध्यक्षमा जीवन उच्चै ठकुरीले गरेका थिए ।