पर्वत : नेपाल किसान महासङ्घ पर्वत प्रदेश सभा ‘ख’ को क्षेत्रीय कार्यसमिति विस्तार तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार पैयुँ गाउँपालिकाको हुवासमा आयोजित क्षेत्रीय भेलाबाट कार्यसमिति विस्तार भएको हो । विस्तारित कार्यसमितिको अध्यक्षमा पैयुँ गाउँपालिका–६ का थानेश्वर तिवारी, उपाध्यक्षमा बिहादी गाउँपालिका–२ का कृष्ण पुरी, सचिवमा पैयुँ गाउँपालिका–५ का हरिप्रसाद न्यौपाने, सह–सचिवमा फलेवास नगरपालिका–३ का दुर्गा देवी सापकोटा र कोषाध्यक्षमा पैयुँ गाउँपालिका–३ का गोमा सुवेदी रहनुभएको छ । सदस्यहरूमा फलेवास–४ बाट दुर्गादत्त गौडेल, ५ बाट युवराज पौडेल, ७ बाट लालप्रसाद रिजाल, १० बाट समुन्द्र राज शर्मा, ३ बाट दल बहादुर दर्जी, २ बाट शान्ति थापा क्षेत्री, महाशिला–५ बाट चेतन हमाल, ४ बाट अनिल गुरुङ, बिहादी गाउँपालिका–१ बाट हुम बहादुर बि.क., ४ बाट काशीराम भुसाल, पैयुँ–५ बाट वेगबहादुर क्षेत्री चयन हुनुभएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पर्वतका पूर्व सभापति तथा महाधिवेशन प्रतिनिधि खिमप्रसाद भुसालले किसान महासङ्घले देखाएको बाटोमा आफूहरूले लाग्ने बताउनुभएको छ । काम चलाऊ कृषि प्रणालीले सफलता प्राप्त नहुने भन्दै उहाँले योजनाबद्ध रूपमा मौसम अनुसारका व्यावसायिक खेतीमा नलाग्दासम्म कृषिमा आत्मनिर्भर बन्न नसकिने उल्लेख गर्नुभयो । उत्पादन नबढेसम्म श्रमको मूल्य नपाइने भएकाले निर्यातमुखी कृषि प्रणालीमा लाग्न भुसालले किसान महासङ्घमा आबद्ध कृषकहरूलाई अनुरोध गर्नुभयो ।
तालिमका माध्यमबाट गरिने कृषिले उत्पादनलाई बढाउने भएकाले कृषिमा पनि प्रविधि र सीपको प्रयोग हुनुपर्ने उहाँको सुझाव छ । यस्तै नेपाली काँग्रेस पर्वतका उपसभापति शिव प्रसाद सुवेदीले विकासका लागि आवश्यक योजना तर्जुमा नभए देश विकास नहुने बि.पी. कोइरालाको भनाई सत्य साबित हुँदै गइरहेको बताउनुभयो । कृषकलाई अलग्गै राखेर कुनै पनि काम पूरा नहुने भन्दै उहाँले देशको समृद्धिदेखि राजनीतिक परिवर्तनसम्म नै किसानको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । पछिल्ला दिनमा किसान महासङ्घ पर्वतले गरेका कामहरू निकै प्रशंसनीय रहेको उपसभापति सुवेदीको भनाइ छ । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सह–सचिव तिलक भुसाल, नेपाली काँग्रेस पर्वतका पूर्व उपसभापति गिरीराज गौतम लगायतका अतिथिहरूले बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ का सभापति राजकुमार क्षेत्री, नेपाली काँग्रेस कुश्मा नगरपालिकाका सभापति किशोर भण्डारी, पैयुँका सभापति डम्बर प्रधान, नेपाल महिला सङ्घ पर्वतकी कार्यवाहक अध्यक्ष सुशीला शर्मा, नेपाली काँग्रेस पर्वतका सल्लाहकार गोविन्द पराजुली, नेपाल किसान महासङ्घ गण्डकी प्रदेश सदस्य प्रेमप्रसाद भुसाल, नेपाल शिक्षक सङ्घ पर्वतका पूर्व अध्यक्ष तिलक श्रेष्ठ, नेपाली काँग्रेस फलेवास नगरपालिका–१० का सभापति मेघराज लम्साल, नेपाल किसान महासङ्घ पैयुँका अध्यक्ष गंगाधर काफ्ले, नेपाली काँग्रेस पैयुँ गाउँपालिका– ३ का सभापति सावित्री थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपाल किसान महासङ्घ पर्वतका अध्यक्ष रघुनाथ गौडेलले जग्गाको अवस्था अनुसार खेती गर्नुपर्ने, बाँदरको नियन्त्रण, अमिला जातका फलफूल रोप्ने लगायतका कामहरु गरेमा कृषकहरुले समयानुकुल उपलब्धि पाउने बताउनुभयो ।
सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव हेम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम किसान महासङ्घ पर्वत प्रदेश सभा ख का अध्यक्ष थानेश्वर तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
किसान महासंघ प्रदेश सभा ‘ख’ को कार्यसमिति विस्तार तथा भेटघाट सम्पन्न
जेष्ठ २८, २०८१
