पर्वत : निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुन सकेको छैन । करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ ।
विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने ठाउँको माथिपट्टि कुश्मा–कैया झोलुङ्गे पुल छ । विष्फोटक पदार्थ प्रयोग गर्दा पुललाई असर गर्ने भन्दै जिल्ला समन्वय समितिले वैकल्पिक उपाय अपनाउन पत्राचार गरेपछि काम रोकिएको छ । उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सनले चट्टान फुटाउन वैकिल्पक उपायको खोजी भइरहेको जनाएको छ । उक्त खण्ड १४ किलोमिटर लामो छ ।
कार्यालयले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । यो कम्पनीसँग चौथोपटक थप गरिएको म्याद आगामी असोज ३० मा पूरा हुँदैछ ।
कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । पर्वत खण्डअन्तर्गत सेतीवेणीबाट फलेवाससम्म कालोपत्र भइसके पनि बाँकी १४ किलोमिटरको स्तरोन्नतिका लागि बजेट विनियोजन नभएको आयोजना कार्यालयले जनाएको छ ।
#रासस