पर्वत : नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको सङ्गठन विभाग बैठकले पार्टी सङ्गठनलाई बलियो बनाउनको लागि विभिन्न निर्णय गरेको छ ।
शुक्रवार बसेको बैठकले मुख्यतः चार वटा निर्णयहरू गरेको छ । जसमा पहिलो निर्णय अन्तर्गत प्रत्येक तीन महिनामा सङ्गठन विभागको बैठक बस्ने, चार महिनामा सङ्गठन विभाग तथा जिल्ला कार्यसमितिको सामूहिक बैठक बस्ने, छ महिनामा पार्टीको क्षेत्र, नगर एवं भातृ तथा शुभेच्छुक संस्थाहरूसँग बैठक बस्ने, वर्षको चैत महिनामा समग्र पार्टीको साङ्गठनिक अवस्थाको विश्लेषण गरी प्रतिवेदन तयार गरी पार्टी नेतृत्वलाई हस्तान्तरण गर्ने र प्रत्येक छ महिनाको एक पटक सम्बन्धित पालिकामा नै पुगेर सामूहिक बैठक गर्ने निर्णय भएको छ ।
यस्तै समग्र पार्टी साथै भातृ एवं शुभेच्छुक संस्थाको क्रियाकलापमा समग्र गतिविधिहरूको अनुगमन गरी आवश्यक सल्लाह र सुझाव दिने, पार्टी र भातृ एवं शुभेच्छुक संस्थाको गतिविधिलाई रेकर्डमा राख्न खाका तयार गरी सम्बन्धित निकायमा नै गएर सामूहिक रूपमा खाका भर्न लगाउने र सङ्गठन विभागद्वारा आयोजित कार्यक्रमहरूको संयोजन गर्नको लागि सात वटै पालिकामा जिम्मेवारी दिने निर्णय भएको छ । जसका लागि जलजला गाउँपालिकामा चन्द्रबहादुर खत्री, कुश्मा नगरपालिकामा दुर्गाबहादुर बस्याल, मोदी गाउँपालिकामा विज्ञान हमाल, फलेवास नगरपालिकामा लिलाधर गौडेल, बिहादी गाउँपालिकामा गोविन्द प्रसाद उपाध्याय चयन हुनुभएको छ । महाशिला र पैयुँ गाउँपालिकामा भने संयोजक पछि तोकिने भएको छ ।
उक्त बैठक पार्टीका सहसचिव तथा संगठन विभाग प्रमुख तिलक प्रसाद भुसालको संयोजकत्वमा बसेको थियो । पार्टीको संगठलाई बलियो बनाउँदै पार्टी तथा भातृ संगठनहरुमा नयाँ उर्जाका साथ काम गर्नका लागि निर्णयहरुले सहयोग गर्ने उहाँको भनाई छ ।