बुधबार, माघ २, २०८१
Wednesday, January 15, 2025

कुश्मा नगरपालिकाद्धारा इमिसका सबै चरणका तालिम पूरा

पर्वत: पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरूको लागि आयोजना गरिएका एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तीन वटै चरणका तालिमहरु सम्पन्न भएका छन् ।
पहिलो चरणमा माध्यमिक विद्यालय तथा दोस्रो र तेस्रो चरणमा आधारभूत तहसम्म सञ्चालित विद्यालयहरूका लागि आयोजित तालिमहरु शुक्रवारदेखि पूरा भएका हुन । तीन वटा चरणमा गरेर नगरपालिकाभित्रका ८१ वटा विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई ‘वेब’ मा आधारित ‘इमिस सफ्टवेयर’ को बारेमा सिकाइएको नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीले बताउनुभयो ।
समापन कार्यक्रममा बोल्दै नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले विद्यालयहरूलाई एउटै एकीकृत प्रणालीमा व्यवस्थित गर्दा उनीहरूको अवस्था र तथ्याङ्कको बारेमा थाहा पाउन सहज हुने भएको बताउनुभयो । पछिल्लो समयमा शिक्षा क्षेत्रमा भित्रिएको प्रविधिले हरेक कामको व्यवस्थापनमा सहज भएको भन्दै उहाँले समयको माग अनुसार शिक्षकहरू पनि प्रविधिमैत्री बन्नुपर्ने उल्लेख गर्नुभयो ।
यस्तै शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले अन्य स्थानीय तहहरूको तुलनामा कुश्मा नगरपालिकाका शिक्षक प्रविधिमा अगाडि रहेको दाबी गर्दै आफूलाई थप अब्बल बन्न शिक्षकहरूलाई अनुरोध गर्नुभयो । शिक्षकहरुले अपेक्षा गरेका कतिपय योजना तथा कार्यक्रमहरू पूरा गर्न नसकिएको भन्दै उहाँले नगरपालिकाको आउँदो बजेटमा वार्षिक परीक्षाको व्यवस्थापनदेखि अन्य कामहरूका लागि प्रयास गरिने बताउनुभयो ।
कार्यक्रममा सहभागीका तर्फबाट जनक माध्यमिक विद्यालयका शिक्षक प्रताप लामिछाने र शिवालय माध्यमिक विद्यालयकी शिक्षक सरस्वती पौडेलले भनाई राख्नुभएको थियो । शिक्षा शाखा प्रमुख तिवारीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत दीपक सुवेदीले गर्नुभएको थियो ।
देशभरका विद्यालयहरूलाई एउटै प्रकारको वेब बेसमा रहेको शैक्षिक सूचना व्यवस्थापन प्रणालीको बारेमा अभिमुखीकरण गरेर विद्यालयहरूको विवरण अद्यावधिक अवस्थामा राख्नको लागि अभिमुखीकरणको आयोजना गरिएको हो । अभिमुखीकरण कार्यक्रममा विद्यालयले भर्नुपर्ने प्रोफाइल तथा विद्यालयका विवरणहरू अद्यावधिक, विद्यार्थीहरूको तथ्याङ्क व्यवस्थापन, परीक्षा व्यवस्थापन तथा सञ्चालन, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको अद्यावधिक विवरण, लगायतका विषयमा सहभागीहरुकाबीच आपसी छलफल र अनुभव आदानप्रदान गरिएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive