पर्वत : स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा जिल्लाका केही नर्सिङ कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गरिएको छ ।
पूर्ण संस्थागत सुत्केरीयुक्त जिल्ला घोषणा कार्यक्रम अन्तर्गत गर्भवती दर्ता तथा अनुगमन सम्बन्धी काम गर्ने नर्सहरूको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यालयले यसअघि नै यस्तै तालिमहरू सञ्चालन गरेको भए पनि ती तालिममा छुट भएकाहरूको लागि फेरि पनि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको कार्यालयका निमित्त कार्यालय प्रमुख रघुनाथ रेग्मीले बताउनुभयो । करिब ३० जना नर्सिङ कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा गर्भवती दर्ता कार्यक्रमको छलफल सँगै एन्टीसक गार्मेन्टको बारेमा पनि अभिमुखीकरण गरिएको छ ।
स्वास्थ्य कार्यालय पर्वतले हरेक स्थानीय तहमा रहेका कम्तीमा एउटा सहित जिल्लाभरका कुल नौ वटा बर्थिङ सेन्टरका लागि एन्टीसक गार्मेन्ट उपलब्ध गराएको हो । प्रशिक्षणसँगै राखिएको गार्मेन्टको समेत अभिमुखीकरणमा प्रसूतिपछि हुने अत्यधिक रक्तस्रावको व्यवस्थापनको बारेमा नर्सिङ कर्मचारीहरूलाई प्रशिक्षण दिइएको छ ।
प्रशिक्षण पश्चात् तिनै कर्मचारीहरूलाई एन्टीसक गार्मेन्ट वितरण गरिएको हो । कार्यक्रममा पर्वत अस्पतालका कुश्माका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला, कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अनमी अधिकृत दुर्गा सापकोटा र स्वास्थ्य कार्यालय पर्वतका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सुमन शर्माले गर्नुभएको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख रघुनाथ रेग्मी अध्यक्षतामा सम्पन्न भएको थियो ।
उता, स्वास्थ्य कार्यालय पर्वतकै आयोजनामा कुश्मा नगरपालिका–९ स्थित कटुवाचौपारीमा रहेको स्वास्थ्य चौकीमा पनि “किटजन्य रोगहरूको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ ।
वडाध्यक्ष राम शर्मा लामिछानेको अध्यक्षता भएको कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू र महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतकी जनस्वास्थ्य अधिकृत ममता ढकालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा डेंगी, कालाजार, स्क्रव टाइफस, औलो, चिकनगुनिया र जीका भाइरस तथा रोगहरूबारे छलफल गरिएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी प्रमुख अमृता कँडेलले गर्नुभएको थियो ।