पर्वत : नेपाल किसान महासंघ पर्वतले कृषकहरुको पक्षमा बिभिन्न माग गर्दै प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मामार्फत प्रधानमन्त्री पुष्पकमल दाहालाई ज्ञापन पत्र पठाएको छ ।
देशभरका किसानले भोग्नुपरेका विभिन्न समस्या र त्यसप्रति नेपाल सरकारले गरेको बेवास्ताप्रति असहमति जनाउँदै ज्ञापन पत्र पठाइएको महासंघ पर्वतका अध्यक्ष रघुनाथ गौडेलले बताउनुभयो । ज्ञापनपत्रमा किसानका समस्याहरुको तत्काल समामधान गर्नुपर्ने माग गर्दै किसानलाई दुधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, मिल्क होलिडे सधैँका लागि अन्त्य गर्नुपर्ने, उत्पादनको आधारमा दुधमा दिइंदै आएको अनुदान पूनः सञ्चालन गर्नुपर्ने, सहुलियत कृषि ऋण र पशु बीमाको प्रिमियममा दिईने अनुदान परिणाममुखी हुनुपर्ने भनिएको छ ।
यस्तै नेपाललाई खोरेत रोग मुक्त घोषणा गर्नुपर्ने, लम्पी स्किन रोगबाट पशुमा क्षति पुगेका किसानलाई तोकिए बमोजिमको राहत दिनुपर्ने, हावाहुरीका कारण तराई क्षेत्रमा क्षति बेहोरेका किसानलाई राहत दिनुपर्ने र बाँदरबाट पिडित बनेका किसानलाई क्षतीपुर्ती दिनुका साथै आवश्यक कानुन निर्माण गरेर बाँदर निन्त्रण गर्न माग गरिएको छ ।
उक्त ज्ञापन पत्र नेपाल किसान महासंघ गण्डकी प्रदेशका सदस्य प्रेम भुसाल, पर्वतका सचिव हेम अधिकारी, सदस्य सिता रिजाल, रामचन्द्र लामिछाने, कासीराम साकी, कुश्मा नगरपालिकाका अध्यक्ष विश्व जोशी, उपाध्यक्ष कोपिला लामिछाने, पर्वतका सल्लाहकार थानेश्वर भुसाल, मोदी गाउँपालिकाकी सदस्य तुलसी सुवेदी, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य राजु सुनार लगायतको सहभागिता रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले ज्ञापन पत्रका मूलभूत कुराहरुलाई मनन गर्दै आफूले पनि किसानका समस्या समाधान गर्नको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताउनुभयो ।
मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024