बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

मध्यपहाडी लोक मार्ग अन्तर्गत कुश्माका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण

असार ४, २०८१
पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको समन्वय तथा अनुरोधमा सडक विभागको पोखरा कार्यालयमार्फत पर्वत सदरमुकाम कुश्मा बजारमा सात स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार कुश्मा बजारका केही ठाउँमा जेब्रा क्रसिङ रहेको भए पनि अन्य स्थानहरूमा पनि यसको आवश्यकता महसुस भएको थियो । मुख्य गरी मध्यपहाडी लोक मार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत कुश्मा बजारमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रीहरू समस्यामा परेका थिए भने बाटो काट्दा दुर्घटनाको जोखिम पनि बढेको थियो । सडकको स्तरोन्नति गरिएसँगै सवारीको चाप बढ्नु तथा सवारीहरू तीव्र गतिमा कुद्नु लगायतका कारण पनि उक्त सडकमा जेब्रा क्रसिङको आवश्यकता परेको थियो ।प्रहरी नायव निरीक्षक ओझाले कुश्मा बजारलाई थप सुरक्षित बनाउनको लागि पैदल यात्रीहरूको बढी भीड हुने क्षेत्रमा जेब्रा क्रससङको आवश्यकता देखिएकोले विभागलाई यसको निर्माणको लागि अनुरोध गरिएको बताउनुभयो । उहाँका अनुसार बान्द्रेबिँडी, शिवालय चोक, दुर्लुङ चोक, जिरो किलोमिटर, साझा चोक लगायतका स्थानमा नयाँ जेब्रा क्रसिङ निर्माण गरिएको हो । यस अगाडि नै पर्वत गुरुकुल एकेडेमी, जिल्ला प्रशासन कार्यालय, नारायण माध्यमिक विद्यालय, राष्ट्रिय बाल शिक्षा सदन, जिल्ला प्रहरी कार्यालय र खरेहामा जेब्रा क्रसिङहरु निर्माण भएका थिए ।
ट्राफिक नियम उल्लङ्घन गर्नेहरूका विरुद्ध कडाइका साथ काम गरिरहेको पर्वत ट्राफिकले जेब्रा क्रसिङको नियम नमान्नेहरूलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । जेब्रा क्रसिङबाट बाटो पार गर्दै यात्रीहरूलाई सवारी साधनले ध्यान दिनुपर्ने र पैदलयात्रीहरुले पनि जेब्रा क्रसिङ भन्दा बाहिरका स्थानबाट बाटो पार गर्न नहुने प्रहरी नायव निरीक्षक ओझाले बताउनुभयो । यी दुवै पक्षले जेब्रा क्रससङको प्रयोग नगरे वा प्रयोगमा लापरबाही गरे नियम अनुसार नै कारबाही हुने उहाँको भनाई छ ।
पर्वतसँग सिमाना जोडिएको कास्कीको पोखरामा जेब्रा क्रससङको पालना हुने गरेको भए पनि कुश्मा बजारमा भने पछिल्लो समयमा मात्रै जेब्रा क्रसिङ निर्माणको काम थालिएको हो । ओझा भन्दा अघिल्लो कार्यकालमा पर्वत ट्राफिकको प्रमुखका रूपमा आउनुभएका सुमन निउरेले बजारका केही ठाउँमा जेब्रा क्रसिङ निर्माण गरेर ट्राफिक व्यवस्थापनलाई सहज बनाउन अभियान थाल्नुभएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive