मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

गण्डकी : ‘विग र लिड विद्यालय’ देखि गुरुङ र मगर भाषालाई कामकाजी बनाउने योजना

असार ५, २०८१

पर्वत : गण्डकी प्रदेश सरकारले शनिवार आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट वक्तव्य प्रस्तुत गरेको छ।
गण्डकी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरे। उक्त बजेट चालूतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ छ।
यो बजेट कार्यान्वयन गर्नको लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रम र योजना समावेश गरेको छ। जसमा सीपयुक्त मानव पुँजी निर्माणका लागि शिक्षा प्रणालीको सामयिक सुधार गर्ने, दुर्गम तथा छरिएका बस्ती क्षेत्रहरूमा आवश्यकता अनुसार ‘विग र लिड विद्यालय’ तथा आवासीय विद्यालय समेत विस्तार गर्ने कार्यक्रमलाई प्रोत्साहन गर्ने, ‘सामुदायिक क्याम्पससँग गण्डकी प्रदेश’ कार्यक्रमलाई निरन्तरता दिने भनिएको छ।
मगर र गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याउन कानुनी व्यवस्था हुने, विद्यार्थीलाई प्रविधिमैत्री र दक्ष बनाउन प्रविधिमैत्री सिकाई कार्यक्रम र ‘फ्राइडे फर फ्यूचर’ कार्यक्रम, बौद्धिक अपाङ्गता एवम् अटिजम भएका बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्ने, पोखरा पृथ्वीनारायण शाहको सालिक निर्माण गर्ने, ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’, नागरिक शिक्षा, अभिभावक शिक्षा साथै ध्यान तथा योग शिविर सहितको गण्डकी जागरण अभियान सञ्चालन, दलित समुदायका सीपको प्रवर्द्धन गर्न ‘भगत सर्वजित सीप विकास कार्यक्रम’लाई निरन्तरता दिने भनिएको छ।
धौलागिरि अस्पताल बागलुङमा प्रदेश मातहतका अस्पताल तथा वर्थिङ सेन्टरमा प्रवीणता प्रमाणपत्र तहको मिडवाइफरी व्यवस्था गर्न अध्यापन सुरुवात गर्ने, रक्तजन्य पदार्थको निःशुल्क उपलब्धता, जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने, मनाङ र मुस्ताङ जिल्ला अस्पताललाई २५ शय्या तथा पर्वत, स्याङ्जा, दमौली, मध्यविन्दु र मातृ शिशु अस्पताललाई ५० शय्या क्षमतामा स्तरोन्नति गर्ने बजेटमा उल्लेख छ।
प्रदेशस्थित रेफरल अस्पतालमा न्युरो इन्टरभेन्सन रेडियोलोजी सेवा, मातृ शिशु मितेरी अस्पतालमा निःसन्तानपनको उपचार सेवा र हिमाली तथा उच्च पहाडी क्षेत्रका स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति, उपकरण र प्रविधिसहित उच्च भेगीय विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, मातृ तथा नवशिशु मृत्यु दरलाई न्यूनीकरण गर्न प्रदेशका सबै जिल्लामा ‘’कम्प्रीहेन्सिभ इमर्जेन्सी अब्स्टेट्रिक एन्ड नियोनेटल केयर’ सेवा सुनिश्चित गर्ने, ग्रामीण भेगमा ‘अल्ट्रासाउन्ड’ सेवा विस्तार गर्ने, नवशिशु सेवाको प्रत्याभूति सहित ‘पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश’ बनाउने अभियान चलाइने कुरा पनि बजेट वक्तव्यमा राखिएको छ।
यस्तै आत्महत्या रोकथाम, धौलागिरि र गण्डकी आयुर्वेद औषधालयको स्तरोन्नति गरी अन्तरङ्ग सेवा सञ्चालन गर्ने,  ‘मेरो स्वास्थ्यः मेरो जिम्मेवारी’ को अवधारणा अनुरूप नागरिक आरोग्य अभियान मार्फत ‘भान्छा सुधारः आरोग्यताको आधार’ कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन भएको उल्लेख छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive