पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको जेठमा ११ महिनामध्येको उच्च राजश्व सङ्कलन गरेको छ । उक्त महिनामा १२ लाख ९२ हजार रुपैयाँ सङ्कलन भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार जेठमा एक सय चार वटा ट्रक तथा ट्रिपरबाट ९२ हजार, ६३ वटा बसबाट ५९ हजार, छ सय १३ वटा कार तथा जिपबाट छ लाख ४२ हजार, ८२ वटा ट्रयाक्टर ६५ हजार पाँच सय, चार सय ४६ वटा मोटरसाइकलबाट चार लाख २६ हजार पाँच सय र अन्य १२ वटा कारबाहीबाट सात हजार गरी कुल एक हजार तीन सय २० वटा कारबाहीबाट १२ लाख ९२ हजार रुपैयाँ सङ्कलन भएको हो ।
११ महिनाको अवधिमा सबैभन्दा कम राजश्व भदौ महिनामा चार लाख ६५ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको थियो। यो महिनामा ५९ वटा ट्रक तथा ट्रिपर, ३४ वटा बस, तीन सय ६२ वटा कार तथा जिप, ३१ वटा ट्रयाक्टर, दुई सय १० वटा मोटरसाइकल र अन्य चार सवारीहरूमाथि कारबाही भएको थियो ।
ट्राफिक प्रहरी प्रमुख ओझाका अनुसार जेठसम्मको अवधिमा कुल ९३ लाख भन्दा बढी राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै सात लाख रुपैयाँ राजश्व सङ्कलन गर्न सकेमा पर्वत ट्राफिकले हालसम्म उठाएमध्येको सबैभन्दा उच्च राजश्व एक करोड रुपैयाँ सङ्कलन हुने छ । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७७/०७८ मा पाँच हजार पाँच सय तीन सवारीमाथि भएको कारबाहीबाट ३५ लाख सात हजार, ०७८/०७९ मा नौ हजार नौ सय सवारीमाथि भएको कारबाहीबाट ६२ लाख ५४ हजार पाँच सय र ०७९/०८० मा ११ हजार दुई सय ५० सवारीमाथि भएको कारबाहीबाट ९४ लाख ५१ हजार रुपैयाँ सङ्कलन भएको थियो ।
ट्राफिक प्रहरी प्रमुख ओझाले सडक तथा सवारीका नियमहरू उल्लङ्घन गरेका जो कोहीलाई पनि कारबाहीको दायरमा ल्याउँदा राजश्व सङ्कलन बढ्नुका साथै दुर्घटना न्यूनीकरणमा पनि सहयोग पुगेको बताउनुहुन्छ । राजश्व सङ्कलनमा आफूहरू एक करोड नजिक रहेकोले असार मसान्तसम्ममा यो पूरा हुने अपेक्षा रहेको उहाँको भनाइ छ । पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा केन्द्रित भएर भइरहेका अनुगमनहरूबाट पनि राजश्व सङ्कलनमा महत्त्वपूर्ण योगदान पुगेको प्रहरी नायव निरीक्षक ओझाले बताउनुभयो ।
ट्राफिक प्रहरीको उपस्थिति रहेको ठाउँमा पुग्दा सवारी चालकहरूले ट्राफिक नियमको पालना गर्ने भए पनि प्रहरीको दृष्टिबाट उम्किएपछि नियम उल्लङ्घन गर्ने गरेको पाइएपछि ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपरेको हो । कारबाहीको डरले बजार क्षेत्रमा ठिक अवस्थामा सवारी चलाउने भए पनि ग्रामीण क्षेत्रमा भने लापरबाहीका घटनाहरू भइरहेको गुनासोका आधारमा जिल्लाका विभिन्न स्थानमा छड्के जाँचलाई बढाइएको छ ।
ट्राफिक प्रहरी युनिटहरू नभएको स्थानहरूमा चालक तथा यात्रुहरूको लापरबाही, ट्राफिक शिक्षाको कमी, सवारी चालक अनुमति पत्र प्राप्त नगरेकाहरूले पनि सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाई सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु राख्ने, छतमा तथा झुन्डिएर यात्रा गर्ने लगायतका लापरबाही नियन्त्रणमा लिनका लागि सदरमुकामबाट टाढा रहेका विभिन्न स्थान तहहरूमा पुगेर ट्राफिक प्रहरीले सवारी र चालकहरूको जाँच गरिरहेको छ ।
बर्खा याम सुरु भएसँगै ग्रामीण क्षेत्रका सडकहरूको अवस्थाका बारेमा जानकारी लिन सकिने, दुर्घटनाको जोखिम रहेका सडकहरू तथा पहिरोको सम्भावना भएका ठाउँहरूको बारेमा समेत थाहा पाएर आवश्यक पूर्व तयारी समेत गर्न सकिने भएकाले पनि ग्रामीण क्षेत्रमा केन्द्रित भएको प्रहरी नायव निरीक्षक ओझाले बताउनुभयो ।
पर्वत ट्राफिकले यस वर्षकै उच्च राजश्व जेठमा उठायो, एक करोड पुगे हालसम्मकै उच्च हुने
असार ६, २०८१
