बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

वर्षा भइरहेकै बेलामा सेनाद्वारा पहिरो र खोलामा उद्धार प्रदेश स्तरीय पूर्व अभ्यास

असार २३, २०८१

पर्वत : शुक्रवारदेखि भइरहेको निरन्तर वर्षाका कारण खोलानाला बढेका छन्, ठाउँ ठाउँमा बाढी आएको छ । जिल्लाको मोदी खोलामा पनि पानीको गडगडाहट चलेको छ । जिल्लाको मोदी गाउँपालिका–२ बेतेनी हुँदै जलविद्युत आयोजनाको ड्याम निर्माण गरिएको छ । उक्त ड्याम पनि पानीले भरिएको छ ।

नेपाली सेनाले शनिवारका लागि गण्डकी प्रदेश स्तरीय संयुक्त बृहत् विपद् प्रतिकार्य नमुना अभ्यास सोही स्थानमा आयोजना ग¥यो । वर्षासँगै आएको बाढी र पहिरोले घरसँगै पुरिएका, नदीमा डुबेका लगायतका उद्धारको लागि नमुना अभ्यास गर्ने तयारी भइरहँदा वर्षा नरोकिएपछि साँच्चिकै उद्धार कार्यमा खटिएको जस्तै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीले विपद्मा सुरक्षाकर्मीले गर्ने उद्धारका नमुनाहरू प्रस्तुत गरे । नदीमा डुबेकाहरूको उद्धारमा गोताखोर र विद्युतीय पोलमा आगलागी हुँदा नियन्त्रणमा लिने ‘फायर फाइटर’ टोलीले अभ्यास गरेर देखाए ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल, बागलुङमा रहेको नेपाली सेनाको नं. २३ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी जगत् बहादुर पौडेल लगायतको उपस्थितिमा भएको नमुना अभ्यास सम्पन्न भएको हो। फरक–फरक १० वटा घटनाहरूमा स्थानीय स्रोत र साधनको प्रयोग गरेर उद्धार, ¥याफ्टबाट उद्धार, पहिरो/खोँचमा उद्धार, गोताखोरको प्रयोग, बिजुलीको पोलमा इलेक्ट्रिक सर्ट सर्किट भई आगलागी हुँदा तत्काल आगलागी नियन्त्रण, रिभर क्रसिङ ड्रिल, सडक दुर्घटना, हाई लाइन रेस्क्यु, विपद् व्यवस्थापन र प्राथमिक उपचारको डेमो तथा राहत वितरण, अस्थायी शिविर, पुनर्वास, सामान्यिकरणबारे प्रदर्शन गरिएको थियो ।

विशेषतः पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा हुन सक्ने विभिन्न विपद्मा उद्धार, राहत वितरण र पुनः स्थापनको लागि विपद् पूर्वको नमुना अभ्यास गर्न गरिएको हो । अभ्यासमा बागलुङको नं. २३ वाहिनी अड्डा तथा अन्तर्गतका श्रीमेहर गण घोडाबाँधे, नारायणदल गण जोमसोम, नयाँ रणभिम गुल्म पर्वत, शत्रु भञ्जन गुल्म म्याग्दी, जिल्ला प्रहरी कार्यालय पर्वत, नं. २५ चण्डिका गण सशस्त्र प्रहरी बल पर्वत, लगायतले विपद्सँग प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैह्र सरकारी निकायहरूको प्रत्यक्ष सहभागितामा अभ्यास सम्पन्न भएको हो ।

विपद्को बेलामा सम्भावित क्षति न्यूनीकरण गर्न प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग समन्वय गरी पूर्व तयारी तथा प्रतिकार्य सञ्चालन गर्ने, मनसुनको दौरान आईपर्न सक्ने आकस्मिक बाढी, डुबान, पहिरोबाट आईपर्न सक्ने सम्भावित विपद्हरूलाई मध्यनजर गरेर यो कार्यक्रमको आयोजना गरिएको हो ।

अभ्यासको अवलोकन गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले गण्डकी प्रदेशमा हुने विपद्मा जनधनको सुरक्षा र उद्धारको लागि सुरक्षाकर्मीहरूले प्रदर्शन गरेको अभ्यास महत्त्वपूर्ण सिकाइ भएको बताइन्। समुदाय, सुरक्षाकर्मी, सरकारी निकाय र सामाजिक सङ्घ संस्थाको एकीकृत सहकार्यले विपद्मा क्षति न्यूनीकरणमा सहयोग पुग्ने भन्दै उनले यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आइरहेको बताइन् । नेपालको भौगोलिक अवस्थिति, नदीनाला, हिमाल र पहाड तथा जलवायु परिवर्तनले जुनसुकै बेला पनि विपद् आउने जोखिम रहेको अवस्थामा सुरक्षाकर्मी खटाई र अभ्यासहरू महत्त्वपूर्ण रहेको प्रमुख सचिव बस्नेतको भनाइ छ । नमुना अभ्यासले उद्धारमा खटिने टोलीलाई झनै दक्ष बनाउने भएकाले आगामी दिनमा पनि सबै सुरक्षा निकायले पूर्व अभ्यासलाई निरन्तरता दिनुपर्नेका उनले बताइन् ।

पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेलले सुरक्षाकर्मीहरूले गरिरहेको काममा तीनै तहका सरकार र जनप्रतिनिधिहरूले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सुरक्षा निकायसँगको असल समन्वयको कामना गरे। राष्ट्रमा आउन सक्ने भूकम्पदेखि बाढी पहिरोसम्मका साना ठुला जुनसुकै विपद्मा पनि नेपाली सेना खट्दै आएको बताउँदै उनले मातहत सबैलाई बर्खाको बेलामा उद्धार र पुन स्थापनाका लागि तयारी अवस्थामा रहिरहन निर्देशन दिए ।

अभ्यासको आयोजना गरेको नं. २३ वाहिनीका वाहिनीपति पौडेलले ‘फर्स्ट रेस्पोन्डर’ र ‘कि रेस्पोन्डर’ ले निर्वाह गर्नुपर्ने भूमिकाबारे सम्बन्धित पक्षलाई थाहा हुनुपर्ने बताउँछन् । नमुना अभ्यासमा साँच्चिकै विपद् भएकै जस्तै कथामा आधारित रहेर ‘डेमो’ प्रस्तुत भएको र यसले धेरै नागरिकलाई उद्धारको तरीकाको बारेमा सिकाएको उनको भनाइ छ । कुनै पनि विपद्को बेलामा उद्धारको सुरुवात गर्ने स्थानीय नागरिक नै भएकाले उनीहरूमा उद्धारबारेको ज्ञान हुनुपर्ने र त्यो ज्ञान नमुना अभ्यासबाट पाउन सकिने सहायक रथी पौडेलले बताए ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive