मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

कुश्मा खानेपानीको अध्यक्ष लगातार दोस्रो कार्यकालका लागि श्रेष्ठ निर्वाचित

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको आपूर्ति गर्दै आइरहेको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा पुन रवि कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
कुश्मामा सम्पन्न भएको सातौँ अधिवेशनबाट श्रेष्ठले प्रतिद्वन्द्वी मानकुमारी गिरीलाई पराजित गर्दै लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । नौ सदस्यीय कार्यसमिति अन्तर्गत विभिन्न सात पदमा सर्वसम्मति भएको भए पनि अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मति हुन नसकेपछि प्रक्रिया निर्वाचनमा पुगेको थियो ।
निर्वाचनमा कुल पाँच सय ९३ मत खसेका थिए । जसमा अध्यक्ष पदमा लडेका श्रेष्ठलाई चार सय ९६ मत प्राप्त भएका छन् भने प्रतिस्पर्धी मान कुमारी गिरीले ७१ मत मात्रै ल्याउन सकिन । उपाध्यक्ष पदमा थोरैको अन्तरमा प्रतिस्पर्धीलाई पराजित गर्दै तुप्ला कुमारी शाक्य निर्वाचित भएकी छिन् । तुप्लाको पक्षमा दुई सय ८३ मत आउँदा उनकी प्रतिस्पर्धी राधा कुमारी शर्माको पक्षमा दुई सय ७२ मत आएका छन् । शर्मा ११ मतको अन्तरमा पराजित भएकी हुन् ।
कार्यसमितिको अन्य पदमा भने सर्वसम्मत भएको थियो । जसमा सचिव कमलनाथ शर्मा, कोषाध्यक्ष गणेश बहादुर भण्डारी, खुला सदस्य राम्जी प्रसाद शर्मा आचार्य, सन्दीपमान श्रेष्ठ, महिला सदस्य कमला श्रेष्ठ, उर्मिला गुरुङ र गीता कुमारी शर्मा रहेका छन् ।
रविले अघिल्लो कार्यकालमा आफ्नो जिम्मेवारी निभाउन हरबखत प्रयास गरेका देखिन्थे । कुश्मामा पानी भित्रिने मुख्य स्रोतका रूपमा रहेका मोदी गाउँपालिकाको पाती खोला र खुर्कोटको क्यादी खोलामा बेला बेलामा पाइप लाइनमा समस्या आउने गरेका छन् । ती समस्याको समाधानको लागि अध्यक्ष श्रेष्ठ आफैले मर्मत सामग्री सहितका सामग्रीहरू बोकेर भिर र पहरामा जाने गरेका थिए । कुश्मा सकेसम्म पानीको आपूर्ति बन्द हुन नदिनका लागि उनले गर्दै आएको प्रयासका कारण पनि उनी आफ्नो जिम्मेवारीमा लोकप्रिय बनेका मतदानका लागि पुगेका खानेपानीका उपभोक्ताले बताएका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive