पर्वत : ३ दिनदेखि लगातार परिरहेको वर्षापछि आएको पहिरोले पर्वतमा २ जनाको मृत्यु भएको छ।
शनिवार दिउँसो गोठमाथिबाट आएको पहिरोले गोठसहित बगाउँदा फलेवास नगरपालिका–१ कार्कीनेटा स्थित टिमुरबोटमा दुईजनाको मृत्यु भयो।
टिमुरबोटस्थित पन्थेका ४० वर्षीय झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का ३३ वर्षीय तुलसीराम पौडेल पहिरोमा परेका हुन्। सोही गोठमा रहेका पालिएका दुईवटा भैँसी, एउटा गोरु र चारवटा बाख्रा पनि पहिरोमै पुरिए।
फलेवास नगरपालिकामा हालसम्म ६ परिवार विस्थापित भएका छन्। फलेवास नगरपालिकाकै लिमिठानामा बाढीले खेत नै पुरेको छ भने देवीस्थानमा मूल बाटो नै भासिएर समस्या भएको छ।
महाशिला गाउँपालिका–५ लुंखुमा तीनवटा घर र गोठमा क्षति पुग्दा केही पशुमा पनि नोक्सानी भएको छ। महाशिलाकै होश्राङ्दीमा एउटा घर र एउटा गोठमा क्षति भएको छ।
कुश्मा नगरपालिका–२ खुर्कोटमा घरमाथिबाट आएको पहिरोले २ घर पूर्ण रूपमा भत्किएका छन्। भिरमुनि भन्ने स्थानमा लक्ष्मी दर्जी र विष्णुमाया दर्जीको घर पूर्ण रूपमा पुरिँदा यी २ परिवार विस्थापित भएका हुन्।
ती घरनजिकै रहेका अन्य २ घर पनि पहिरोको जोखिममा परेका छन्। घरका सदस्य कोही पनि घरमा नभएको मौकामा पहिरो आएकोले मात्रै खुर्कोटमा मानवीय क्षति हुन नपाएको हो।
सदरमुकामसमेत रहेको कुश्मा नगरपालिका–६ स्थित नेपाल टेलिकमको कार्यालयनजिक घरअगाडि सडक नै भासिएको छ भने वडा नं. ७ र ८ को सिमानामा रहेको तमादी खोलामा आइरहेको लेदोसहितको बाढीले वेला वेलामा सडक अवरुद्ध गरिरहेको छ।
यो खोलाले गत वर्षको बर्खामा यात्रु सहितको जिप नै बगाएको थियो। वडा नं. १३ खौलाका धेरै स्थानमा पहिरो जाँदा जमिन क्षत विक्षत देखिएको भए पनि मानवीय क्षति भने भएको छैन।
पैयुँ गाउँपालिका–४ का किक्रिकमा, धरमपानी बस्तीलगायतका ठाउँमा पहिरोले क्षति गरेको छ। पहिरोले स्थानीय क्याम्पसमा क्षति भएको छ भने वडा नं. ५ स्थित तिया खेतमा रहेको विद्यालय पनि जोखिममा छ।
सडकबाट एकोहोरिएर बगेको भेल र बर्खाको वेलामा धमाधम चलिरहेका निर्माण कार्यले नाली पुरिने र पानीको गति नै परिवर्तन हुँदा केही परिवारहरू बाढीको जोखिममा रहेका छन्।
जलजला गाउँपालिका–१ बाँसखर्कमा २ घरमा क्षति भएको छ भने वडा नं. ७ सल्यानमा कुलो बढेर आउँदा एउटा घरमा क्षति भएको छ।
मोदी गाउँपालिका–२ मा बाढीकै कारण पातीचौर–देउपुर–भुक सडक अवरुद्ध भएको छ। जसले ग्रामीण क्षेत्रलाई बजारसँग जोड्ने मुख्य मार्ग नै बन्द भएका छन्।
पर्वत हुँदै जाने तथा साविकको धौलागिरिका ४ जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई पोखरा र अन्य जिल्लासँग जोड्ने मुख्य सडक मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पनि पहिरो खस्ने र ढुङ्गा झर्ने समस्याहरू भइरहेका छन्।
लोकमार्ग अवरुद्ध हुन नदिनको लागि ट्राफिक प्रहरी र स्थानीय तहहरूले काम गरिरहेका छन् तर विभिन्न स्थानीय तहहरूबाट सदरमुकाम कुश्मासँग जोडिने धेरै सडकहरू पहिरोकै कारण बन्द भएका छन्।





