बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

पर्यटकीय हब बनिरहेको पर्वतमा अब ‘हस्पिटालिटी स्कुल’

असार २५, २०८१

पर्वत : पवित्र कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जी जम्पदेखि सुपर म्यान शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको जिप लाइन पनि कालीगण्डकी नदीकै किनारमा छन्। पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दै गइरहेको पर्वत सदरमुकाम कुश्मा बजारका रिसोर्ट तथा होटलहरुमा दक्ष जनशक्तिको आवश्यकता छ।

यो क्षेत्रमा होटल व्यवस्थापनको अध्यापन नहुने भएकाले पनि सबै होटलहरुमा यसबारेमा अध्ययन गरेको जनशक्ति जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ। जिल्लामा विकास भइरहेका पर्यटकीय गतिविधि र उनीहरूको बसाई लम्बिँदै जान थालेको अवस्थामा जिल्लामा नै पहिलो पटक ‘हस्पीटालिटी स्कुल’ बनाउन थालिएको छ। सीपमूलक र आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार पारेर उनीहरूलाई जिल्लाभित्र र बाहिरका विभिन्न ठाउँमा रोजगारी दिने उद्देश्यले कुश्माको आदर्श अङ्ग्रेजी आवासीय मा.वि.ले आफूलाई ‘युनिक एन्ड स्मार्ट हस्पिटालिटी स्कुल’ का रूपमा प्रस्ताव गरेको छ।

यस क्षेत्रको एक मात्र आइएसओ अवार्ड तथा ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय बेन्चमार्क प्राप्त गरेको उक्त विद्यालयमा होटल तथा पर्यटन, कक्षा ११ र १२ सँग सम्बन्धित सङ्घ संस्था, स्विस मान्यता प्राप्त अन्तर्राष्ट्रिय गेट कलेज, अन्तर्राष्ट्रिय होटल मेभिलियन तथा स्थानीय होटल ‘दि क्लिफ नेपाल’ लगायतको सहकार्यमा ‘हस्पिटालिटी एन्ड टुरिजम’ विषयमा कक्षा ११ बाट अध्यापन गर्न सुरु गरिएको विद्यालयका प्रधानाध्यापक हिमबहादुर पौडेल क्षेत्रीले बताए।

अनिवार्य विषयतर्फ ‘अङ्ग्रेजी’, ‘नेपाली’ र ‘सामाजिक तथा मानव मूल्य शिक्षा’ तथा मुख्य विषयतर्फ ‘हस्पिटालिटी म्यानेजमेन्ट’, ‘टुरिजम एन्ड माउन्टेनरीङ’ र ‘बिजनेस स्टडीज’ राखिएको छ। ‘नन क्रेडिट’ विषयतर्फ ‘मानव मूल्य’  र ‘कम्प्युटर’ राखेर अध्यापन गरिने उनको भनाइ छ।

‘जिल्लाभित्र र जिल्ला बाहिरका कलेज तथा स्तरीय होटलहरूमा लगेर प्रयोगात्मक रूपमा विद्यार्थीलाई अध्यापन गराउने गरी तयारी गरिरहेका छौँ। यो अध्यापनले पर्वत सहित बागलुङ, म्याग्दी र मुस्ताङ तथा नजिकै रहेको पोखरामा आवश्यक पर्ने जनशक्ति उत्पादन हुनेछन्’, प्रधानाध्यापक क्षेत्री भन्छन्, ‘सम्बन्धित कुराहरू अध्ययन नै गरेर आएको व्यक्तिबाट प्राप्त हुने हस्पिटालिटी अनुभवको आधारमा मात्रै काम गरिरहेकाहरूको भन्दा स्तरीय हुन्छ। यस क्षेत्रमा पर्यटकीय आकर्षण बढाउन तथा उनीहरूको लागि आनन्ददायी वातावरण निर्माणको लागि पनि यो अध्यापन आवश्यक थियो।’

पर्वत सहित यस क्षेत्रमा नै पहिलो पटक यस्तो खालको विषयको पढाइ हुने भएपछि पर्यटनको क्षेत्रमा थप बल पुग्ने र आफूहरूले बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यताको अन्त्य हुने ‘द हार्नेस जीपलाइन’ पर्वतका सञ्चालक सुनिल बानियाले बताए। एक त शिक्षा प्रदान गर्नु र शिक्षा ग्रहण गर्नु आफैमा राम्रो काम भएको भन्दै उनले यस क्षेत्रमा रहेका होटल, रिसोर्ट तथा पर्यटकीय गतिविधि हुने ठाउँमा अध्ययन गरेर दक्ष बनेको जनशक्तिको आवश्यकता रहने उल्लेख गरे।

‘आन्तरिक पर्यटकहरूको लागि त खासै समस्या नहोला तर बाह्य पर्यटकहरूको लागि भाषा र हस्पिटालिटीबारे राम्रो ज्ञान हुनुपर्छ। हाम्रा रिसोर्टहरुमा आउनुहुने आन्तरिक र बाह्य पर्यटकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नको लागि यहीँको जनशक्तिले मौका पनि पाउनु खुसीको कुरा हो’, बानियाले भने, ‘यो काममा हामीहरू उहाँहरूलाई सघाउन तयार छौँ, उहाँहरूले उत्पादन गर्नुभएको दक्ष जनशक्ति आवश्यकता अनुसार यहीँ लिने हो। यसले यहीँका युवा युवतीलाई रोजगारीको अवसर दिने भएको छ।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive