पर्वत : लगातारको वर्षासँगै आएको पहिरो पर्दा कास्कीमा ११ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार बिहीबार राती करिब साढे १० बजेको समयमा पोखरा महानगरपालिका–१९ स्थित तल्लाकोट टारी बस्ने कुल बहादुर परियारको टिनले छाएको ढुङ्गा माटोले बनेको १ तले घर घर पछाडिबाट पहिरो आई पुरेको छ।
उक्त पहिरोमा ४६ वर्षीय कुल बहादुर परियार, उनकी श्रीमती ४३ वर्षिया मनकुमारी परियार, कुलबहादुरकी आमा ८५ वर्षिया लक्षीमा परियार, छोरी १५ वर्षिया प्रशना परियार, कुलबहादुरकी चितवन घर भएकी २० वर्षिया छोरी प्रभा परियार र ज्वाइँ २५ वर्षीय अस्मित परियार र उद्धारमा पुगेकी टारीकै ५६ वर्षिया राधिका परियार रहेका छन्। उद्धार गर्ने क्रममा घटनास्थलमा नै लडेपछि राधिका समेत पहिरोमा परेकी हुन्।
पहिरोमा घर पुरिएको थाहा पाएपछि प्रहरी चौकी सार्दीखोला, जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल, नेपाली सेना समेतको उद्धार टोली खटिई गई खोज तथा उद्धार सुरु गरेका थिए। सुरक्षाकर्मीहरूले घटनास्थलबाट मृतक राधिकाका छोरा ३१ वर्षीय कुमार परियार र मृतक कुलबहादुरका छोरा १७ वर्षीय पवन परियारको सकुशल उद्धार गरेको छ। कुमारको बायाँ हातमा चोट लागेकोमा पश्चिम क्षेत्रीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्। पवनको ढाडमा चोट लागेकोमा उपचारपछि उनी पनि पश्चिम क्षेत्रीय अस्पतालबाट डिस्चार्ज भएका छन्।
यस्तै बिहीबार राती सवा दुई बजेको समयमा पोखरा महानगरपालिका–३२ चैनपुर स्थित बाह्रबिसेमा पनि पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।
प्रहरी नायव उपरीक्षक शर्माका अनुसार आरती ओझाको ढुङ्गा माटोले बनेको तथा टिनले छाएको एक तले कच्ची घर पहिरोले पुरिएको छ। इलाका प्रहरी कार्यालय शिसुवाबाट गएको प्रहरी टोलीले उद्धारका क्रममा आरतीकी छोरी १८ वर्षिया अनिता ओझा, अर्की छोरी ११ वर्षिया अनुष्का ओझा र आरतीको दाइको छोरा नौ वर्षीय प्रतीक सुवेदीलाई मृत अवस्थामा फेला पारेको छ। उक्त पहिरोमा परेकी ४० वर्षिया आरतीको पश्चिम क्षेत्रीय अस्पतालमा मध्यम अवस्थामा उपचार भइरहेको छ।
कास्कीकै मादी गाउँपालिकामा पनि पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। वडा नं. ११ तल्लो ताप्लेमा रहेको माइती कुमारी गुरुङको ढुङ्गा माटोले बनेको एक तले कच्ची घर पहिरोले पुरिँदा ८० वर्षिया माइती कुमारीको मृत्यु भएको हो।
घरमा दुई जनाको परिवार बस्दै आएकोमा माइती कुमारी बेपत्ता भएकीमा खोजतलासका क्रममा शुक्रवार बिहान सात बजे मृत अवस्थामा फेला परेकी हुन्। उनका छोरा ५५ वर्षीय ओम बहादुर गुरुङलाई प्रहरी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको छ।
कास्कीमा ससुराली आएका ज्वाइँ सहित पहिरोमा परेर ११ जनाको मृत्यु
