पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको आदर्श अङ्ग्रेजी आवासीय मा.वि.ले यस वर्षदेखि कक्षा ११ को अध्यापन सुरु गर्दे ‘हस्पिटालिटी एन्ड टुरिजम’ विषय अध्यापन गर्ने भएको छ ।
यस क्षेत्रको एक मात्र आइएसओ अवार्ड तथा ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय बेन्चमार्क प्राप्त गरेको उक्त विद्यालयमा होटेल तथा पर्यटन, कक्षा ११ र १२ सँग सम्बन्धित सङ्घ संस्था, स्विस मान्यता प्राप्त अन्तर्राष्ट्रिय गेट कलेज, अन्तर्राष्ट्रिय होटेल मेभिलियन तथा स्थानीय होटेल ‘दि क्लिफ नेपाल’ लगायतको सहकार्यमा ‘हस्पिटालिटी एन्ड टुरिजम’ विषयमा कक्षा ११ बाट अध्यापन गर्न सुरु गरिएको विद्यालयका प्रधानाध्यापक हिमबहादुर पौडेल क्षेत्रीले बताए ।
अनिवार्य विषयतर्फ ‘अङ्ग्रेजी’, ‘नेपाली’ र ‘सामाजिक तथा मानव मूल्य शिक्षा’ तथा मुख्य विषयतर्फ ‘हस्पिटालिटी म्यानेजमेन्ट’, ‘टुरिजम एन्ड माउन्टेनरीङ’ र ‘बिजनेस स्टडीज’ राखिएको छ । ‘नन क्रेडिट’ विषयतर्फ ‘मानव मूल्य’ र ‘कम्प्युटर’ राखेर अध्यापन गरिने उनको भनाइ छ ।
२५ औँ एसइई ब्याच उतारेको विद्यालयले परम्परागत शैली भन्दा फरक विषयमा आफूले आफैँसँग प्रतिस्पर्धा गर्ने गरी यो विषयको अध्यापन सुरु गरेको हो । केही महिना अगाडि मात्रै कक्षा ११ सञ्चालनका लागि अनुमति प्राप्त गरेको विद्यालयले उक्त विषय अध्यापनका लागि फाराम वितरण पनि गरिरहेको छ । जुनसुकै ग्रेडमा भए पनि १० कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूले यो विषय अध्ययन गर्न पाउने भएकोले एसइईको ग्रेड वृद्धि परीक्षाबाट पुन उत्तीर्ण भएर आउने विद्यार्थीहरू पनि भर्ना हुन पाउने विद्यालयले बताएको छ ।
पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दै गइरहेको पर्वत सदरमुकाम कुश्मा बजारका रिसोर्ट तथा होटलहरुमा दक्ष जनशक्तिको आवश्यकता छ । यो क्षेत्रमा होटेल व्यवस्थापनको अध्यापन नहुने भएकाले पनि सबै होटलहरुमा यसबारेमा अध्ययन गरेको जनशक्ति जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । जिल्लामा विकास भइरहेका पर्यटकीय गतिविधि र उनीहरूको बसाई लम्बिँदै जान थालेको अवस्थामा सम्भवतः गण्डकी प्रदेशमा नै पहिलो ‘हस्पीटालिटी स्कुल’ बनाउन थालिएको छ ।
सीपमूलक र आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार पारेर उनीहरूलाई जिल्लाभित्र र बाहिरका विभिन्न ठाउँमा रोजगारी दिने उद्देश्यले आदर्श अङ्ग्रेजी आवासीय मा.वि.ले आफूलाई ‘युनिक एन्ड स्मार्ट हस्पिटालिटी स्कुल’ का रूपमा प्रस्ताव गरेको छ ।
जिल्लाभित्र र जिल्ला बाहिरका कलेज तथा स्तरीय होटेलहरूमा लगेर प्रयोगात्मक रूपमा विद्यार्थीलाई अध्यापन गराउने गरी तयारी गरिरहेको विद्यालयका प्रिन्सिपल क्षेत्रीले बताए । यो अध्यापनले पर्वत सहित बागलुङ, म्याग्दी र मुस्ताङ तथा नजिकै रहेको पोखरामा आवश्यक पर्ने जनशक्ति उत्पादन हुने उनको भनाइ छ ।
पर्वत सहित यस क्षेत्रमा नै पहिलो पटक यस्तो खालको विषयको पढाइ हुने भएपछि पर्यटनको क्षेत्रमा थप बल पुग्ने र आफूहरूले बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यताको अन्त्य हुने यस क्षेत्रका होटेल तथा पर्यटन व्यवसायीहरूले बताएका छन् । यस क्षेत्रमा रहेका होटेल, रिसोर्ट तथा पर्यटकीय गतिविधि हुने ठाउँमा अध्ययन गरेर दक्ष बनेको जनशक्तिको आवश्यकता रहेको उनीहरूको भनाइ छ ।
कुश्माको आदर्श मा.वि.मा कक्षा ११ र १२ मा ‘हस्पिटालिटी एन्ड टुरिजम’ पढाइ हुने
