पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङमा रहेको नुवार सुवेदीथर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको छ ।
विद्यालयका शिक्षक जयराम सुवेदीका अनुसार विद्यालयको कक्षा नर्सरीदेखि १० सम्म अध्ययनरत सबै बालबालिकाहरूलाई पोसाक दिइएको हो । बालबालिकाहरूका लागि स्वदेश तथा विदेशमा रहेका गाउँवासी तथा अन्य व्यक्तिहरूले पठाएको कुल तीन लाख नौ हजार पाँच सय ५५ रुपैयाँबाट पोसाक खरिद गरिएको हो ।
आएको रकममध्ये दुई लाख ४८ हजार छ सय रुपैयाँको लागतमा दुई सय २६ थान पोसाक विद्यार्थीहरूलाई वितरण गरिएको छ । विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुग्ने अपेक्षाका साथ ड्रेस वितरण गरिएको शिक्षक सुवेदीले बताए । पोसाक वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष खगराज पौडेलले शैक्षिक उन्नयनमा शिक्षकको महत्त्वपूर्ण भूमिका रहने भएकाले भौतिक भन्दा अब शैक्षिक उन्नयनमा लाग्न आग्रह गरे । आउँदा दिनमा वडाबाट गर्न सकिने सहयोग गर्न आफू सधैँ प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपिल सुवेदीले भौतिक रूपमा सम्पन्न भएसँगै अबका दिनमा शैक्षिक उन्नयनमा लाग्न शिक्षक, विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरे । विद्यार्थीहरूलाई पोसाक उपलब्ध गराउने पवित्र कार्यमा सहयोग गरेका सबैप्रति उनले धन्यवाद पनि ज्ञापन गरेका छन् ।
यस्तै विद्यालयका प्रधानाध्यापक दीपक सुवेदीले अबका दिनमा अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई घरमा शैक्षिक वातावरण मिलाइदिन अझै मिहिनेत गर्न आग्रह गरे । कार्यक्रममा अनुगमन समिति संयोजक होमनाथ सुवेदी, कृष्णप्रसाद अर्याल तथा चन्दादाता गणेश मल्ल लगायतका व्यक्तित्वहरू बोलेका थिए । शैक्षिक सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीवीच अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक जयराम सुवेदीले गरेका थिए ।
बिहिबार, मंसिर २०, २०८१
Thursday, December 5, 2024