बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

समुदायसँग सम्बन्ध बलियो बनाउँदै पर्वत अस्पताल

पर्वत : पर्वत अस्पतालले गरिरहेका राम्रा कामहरूप्रति जनताको विश्वास पाउन र सुधार्नुपर्ने पक्षमा रचनात्मक सुझाव लिनका लागि पर्वत अस्पतालले समुदायसँग जोडिने अभियान सुरु गरेको छ ।
समुदायका हरेक व्यक्तिहरूले सेवा लिने पर्वत अस्पतालका सेवा, शैली, विधि, चिकित्सक, व्यवस्थापन सहित भौतिक पक्षहरूको बारेमा थाहा पाउनुपर्ने भन्दै यो अभियान थालिएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो । विगतमा अस्पताल र समुदाय फरक जस्तो देखिने वा एक अर्कामा आपसी समझदारी कम भएको जस्तो देखिएको भन्दै उहाँले अस्पतालको काम समुदायका नागरिककै लागि भएकोले समुदाय र अस्पतालबिचको सम्बन्ध प्रगाढ बढाउनको लागि अभियान सुरु गरिएको अध्यक्ष गिरीको भनाई छ ।
शून्य बजेटमा सञ्चालन हुने यो कार्यक्रम अन्तर्गत समुदायका विभिन्न सङ्घ संस्था वा संस्था बाहिरका व्यक्तिहरू अस्पतालमा अवलोकन भ्रमणका लागि आउन सक्नुहुने छ । जसले अस्पताललाई पनि विभिन्न युवा क्लब, आमा समूह, लायन्स, रोट्रयाक्ट, जेसिज लगायतका सामाजिक संस्थाहरूसँग जोडिएर जाने मौका प्रदान गर्ने छ । ‘यसले कर्मचारी साथीहरू सहित हामी व्यवस्थापनका व्यक्तिहरू पनि सँगै जोडिएर जाने मौका पाउने छौँ । अस्पतालको काम नै समुदायमा भएकोले यी दुई पक्षबिचको सम्बन्ध बलियो हुनुपर्छ’, उनले भने, ‘त्यसका लागि त समुदायका व्यक्तिहरू अस्पतालमा आउनुपर्छ, यहाँको भ्रमण गर्नुपर्छ, यहाँका राम्रा काममा धन्यवाद र सुधार्नुपर्ने कुरामा सुझाव दिनुपर्छ । तब मात्रै यो अस्पताल सबैको विश्वासको केन्द्र बन्छ ।’
अभियान अन्तर्गत हालै मात्र कुश्मा नगरपालिका–९ कटुवाचौपारीको सार्वजनिक माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले अस्पतालको अवलोकन भ्रमण गरेका छन् । उनीहरूले अस्पतालका विविध पक्षहरूको बारेमा अवलोकन गरेका छन् । नजिकैको अस्पताल भए पनि कतिपय कुराहरू थाहा नहुने भएकाले यो भ्रमणमा अस्पतालका विविध पक्षहरूबारे जान्ने मौका मिलेको शिक्षकहरुले बताउनुभएको छ । जनशक्ति कम हुँदाहुँदै पनि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्नु, जनशक्तिले धान्ने भन्दा धेरै शय्या सञ्चालन गरेर सेवा दिनु लगायतका कतिपय सङ्घर्षका कुराहरू पनि थाहा पाउने मौका मिलेको उहाँहरूको भनाइ छ । अवलोकनमा आउनेहरू हरेक सेवासँग प्रत्यक्ष रूपमा ठोक्किने र त्यसमा फरक दृष्टिले देखेका सुझावहरू सङ्कलन गर्न सहज हुने डा. मिलन अवाले बताउँछन् ।
अस्पतालको लक्ष भनेको जसरी हुन्छ समुदायसँग बढी जोडिने भएकोले अस्पतालमा रहेका समस्याहरूको बारेमा समुदायलाई बुझाउन प्रयास गरिएको उनको भनाइ छ । जनशक्ति र स्रोतको अभावमा कतिपय समस्या भएको भए पनि हल्लाको भरमा भन्दा प्रत्यक्ष देखेर आफैले वास्तविकता थाहा पाउँदा अफवाह नफैलिने भएर पनि समुदायसँग जोडिन आवश्यक रहेको डा. अवाले बताउँछन् ।
अस्पतालको अवलोकनपछि प्रतिक्रिया दिँदै सार्वजनिक मा.वि.का शिक्षक दीपक लामिछानेले बिहानदेखि बेलुकासम्मै उपलब्ध रहेको ओपिडी सेवाले धेरैलाई सहज भएको बताए । अस्पतालको सर्वाङ्गीण विकास र स्वास्थ्य सेवा प्रवाहमा देखिएको उल्लेखनीय सुधारहरूले खुसी मिलेको भन्दै उनले व्यवस्थित सेवा प्रवाहले यहाँको बिरामीहरू पोखरा वा अन्य ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive