पर्वत : शैक्षिक सुधारका लागि विभिन्न प्रयासहरू गर्दै आइरहेको पर्वतको जलजला गाउँपालिकाले विद्यालयहरूले लिने दोस्रो त्रैमासिक परीक्षालाई पनि विगतमा जस्तै पालिका स्तरमा सञ्चालन गरेको छ ।
गाउँपालिकाभित्रका सबै विद्यालयहरूको गुणस्तर थाहा पाउन तथा प्रश्न पत्रमा एक रुपता कायम गरेर परीक्षा चलाउँदा शिक्षक र विद्यार्थीको वास्तविक अवस्था पनि थाहा हुने भएकोले त्रैमासिक परीक्षालाई समेत पालिका स्तरमा नै सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताए । पुस सात गतेदेखि १६ गतेसम्म सञ्चालन हुने पालिका स्तरीय परीक्षामा आवश्यक पर्ने प्रश्न पत्र तयारी तथा छपाइको काम गाउँपालिकाले नै गरेको छ ।
उत्तर पुस्तिका परीक्षणका लागि केन्द्र अनुसारका लिडर विद्यालयहरूले आफ्नो व्यवस्थापनमा सञ्चालन गर्ने गाउँपालिकाले बताएको छ । विगतमा पनि यही शैली अपनाउँदा शिक्षक र विद्यार्थीहरूले सुधार गर्नुपर्ने तथ्यहरू सहजै पत्ता लाग्दा शिक्षक र विद्यार्थीहरूलाई पृष्ठपोषण प्रदान गर्न सहज भएको थियो ।
गाउँपालिकाले आ–आफ्ना विद्यालयबाट सम्पूर्ण विद्यार्थीहरू सहभागी गराइ सभ्य र मर्यादित रूपमा परीक्षा सम्पन्न गराउन सरोकारवाला पक्षहरूमा अनुरोध गरेको छ । सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, अभिभावक तथा अन्य पक्षहरूबाट परीक्षा अनुगमन तथा निरीक्षण गर्दा विद्यालयमा गुणस्तर कायम गर्न सहज हुने अध्यक्ष आचार्यले बताए ।
जलजलामा ४२ वटा सामुदायिक विद्यालयहरू रहेका छन् । ती विद्यालयमा २१ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
मितिः २०८१ मङ्सिर ०८