बुध, माघ २१, २०८२
Wed, February 4, 2026

मध्यपहाडीको पहिरोका कारण सवारी नगुड्ने पाङ खुर्कोटमा सवारीको जाम

असार २८, २०७८

संजय रेग्मी
असार २८, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटको घुम्ती हुँदै लाम्पाटा–बगैँचा चोक–पाङ–खनियाघाट सडक निर्माण गरेर हाल चालु रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा–बागलुङ सडकको विकल्पको रूपमा प्रयोग गर्न धेरै पटक आवाज उठे। यो माग सडकदेखि संसद्सम्म पनि उठ्यो।
तर समस्या नआएसम्म विकल्प नखोज्ने प्रवृत्तिका कारण अहिले घुम्ती–लाम्पाटा–बगैँचा चोक–पाङ–खनियाघाट वैकल्पिक सडक निर्माण गर्नुपर्ने देखिएको छ। भारत र चिन दुवै छिमेकीलाई जोड्ने गरी निर्माण भइरहेको कालीगण्डकी कोरिडोरको काम पूरा भएपछि पर्वतको कुश्मादेखि मालढुङ्गासम्मको सडकमा सवारी चाप अत्यधिक हुने छ। यही कारण पनि त्यो बाटोसँग सम्बन्धित पक्षले वैकल्पिक सडकको कुरा उठाउँदा पनि सपना पूरा भएको छ। घुम्ती–लाम्पाटा–बगैँचा चोक–पाङसम्म सडक बनेको भए पनि बैकल्पिक सडककै रूपमा लिइएको छैन।
तर मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुलमा पहिरोसँगै सडकमा आएका विशाल ढुङ्गाहरू पन्छाउनै नसक्दा वैकल्पिक सडकको विकल्प नभएको देखिएको छ। गत असार २४ गतेको अविरल वर्षासँगै आएको पहिरोका कारण कुश्मा–बागलुङ सडक खण्ड ठप्प भएको छ।
वैकल्पिक सडकका रूपमा हेरिएको खुर्कोट–पाङ सडक लोकमार्ग भन्दा केही माथि रहेको छ। जहाँ गाउँमा यात्रु बोक्ने जिप, दुई पाङग्रे सवारी, मार्केटिङका लागि जाने मिनी ट्रकहरू मात्र फाटफुट चलेको देख्न पाइन्थ्यो। त्यही ठाउँमा अहिले भइरहेको सवारी जामका कारण ट्राफिक व्यवस्थापनको लागि ट्राफिक प्रहरी नै उपस्थित हुनु परेको छ। लोकमार्गमा गुड्ने सबै सवारीहरू अर्मादी–बगैँचा चोक–पाङ हुँदै सहस्रधारा झरेर बागलुङ र म्याग्दी आउजाउ गरिरहेका कारण फाटफुट सवारी देखिने खुर्कोट र पाङ गाउँमा दैनिक जसो सवारी जाम हुने गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले लोकमार्गमा पहिरोसँगै आएका विशाल ढुङ्गा हटाउनको लागि कम्तीमा पनि अझै तीन लाग्न सक्ने बताउँदै वैकल्पिक सडकका रूपमा अर्मादी–बगैँचा चोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची सडकमा दैनिक सयौँ सवारीको भीड भइरहेको बताए। लोकमार्गमा बसेर सवारी व्यवस्थापनको काम गरिरहेका ट्राफिक प्रहरीहरू अहिले गाउँमा पुगेर जाम खुलाउने र सवारी व्यवस्थापनमा लागिरहेको उनको भनाई छ।
‘लोकमार्गमा गुड्ने सबै सवारीले गाउँको यो बाटोलाई नै वैकल्पिक सडकको रूपमा प्रयोग गरिरहेका छन्। पर्वत हुँदै म्याग्दी र बागलुङ आउजाउ गर्ने सबै सवारीहरू यही बाटोबाट गुडिरहेका छन’ उनले भने, ‘यहाँको साँघुरो बाटो कच्ची सडकमा ठुला बसहरू क्रस हुन सक्ने अवस्थै छैन। तर आउने क्रम नरोकिएकाले जाम बढेको छ। गाउँको हिलो र साँघुरो कच्ची बाटोमा त्यही लोडेड सवारीहरू फसेर अर्को आपत् भएको छ।’
बगैँचा चोकका स्थानीय रघुनाथ रेग्मीले राज्यले पहिले नै लोकमार्गका विकल्पका रूपमा घुम्ती–लाम्पाटा–बगैँचा चोक–पाङ–खनियाघाट सडक निर्माण गरेको भए अहिलेको अवस्था नआउने बताउँदै आफूहरूले गरेको माग ठिकै रहेछ भन्ने पुष्टि अहिले भएको बताउँछन्। खासै सवारी नै देख्न नपाइने गाउँमा अहिले हाइवेमा गुड्ने सवारीहरू पुगेको देख्दा अचम्म लागेको उनको भनाई छ।
‘अहिले त मलाई अचम्म लागेको छ। कुश्माबाट सिधै बागलुङ जाने सबै सवारीहरूले यही गाउँको बाटोलाई विकल्पको रूपमा लिएका छैन। तल लोकमार्गमा पहिरो गए लगत्तै यता गाउँमा सवारी जाम सुरु भयो’ उनले भने, ‘यहाँका नागरिकले पहिले नै वैकल्पिक सडकको माग गर्दा राज्यले सुनेन, अहिले वास्ता नगरिएको ठाउँ नै लोकमार्ग जस्तो भयो। हामीहरूले माग गरेको वैकल्पिक सडक गलत रहेछ त?’
ट्राफिक प्रहरी प्रमुख खड्काका अनुसार लोकमार्गको अर्मादीदेखि सहस्रधाराको खण्ड करिब डेढ किलोमिटर लम्बाइको छ। तर अहिले सवारीहरू गुडिरहेको अर्मादी–बगैँचा चोक–पाङ–सहस्रधारा खण्ड कम्तीमा पनि सात किलोमिटर छ। थाहा खबरसँगको कुराकानीमा पर्वतका पूर्व सांसद अर्जुनप्रसाद जोशी र निवर्तमान सांसद पदम गिरी दुवैले कुश्मा–बागलुङ सडकको विकल्पमा घुम्ती–लाम्पाटा–बगैँचा चोक–पाङ–खनियाघाट सडक बनाउनुपर्ने बताएका छन्। उनीहरू दुवैले त्यसका लागि आफूहरूले निरन्तर पहल गर्दै आएको दाबी गरेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive