पर्वत : ‘बुहारी ग्रुप अफ नेपाल’ ले रक्त क्यान्सर भएका एक जना बालकको उपचारमा सघाउन आर्थिक सहयोग गरेको छ ।
विवाहित महिलाहरूले सामाजिक सञ्जालमा ‘फेसबुक’ मा स्थापना भई सहयोग अभियान चलाउँदै आएको समूहले गुल्मीको छत्रकोट गाउँपालिका–६ दौघा घर भएका पाँच वर्षीय एरिक बस्नेतलाई ६५ हजार पाँच सय रुपैयाँ सहयोग गरेको हो । ‘बुहारी ग्रुप अफ नेपाल’ कै सदस्यका रूपमा रहेकी अनिता बस्नेतका छोरा एरिक केही समयदेखि रक्त क्यान्सरबाट पीडित रहेका छन् ।
छोराको उपचारमा आफ्नो जायजेथा सक्दा पनि उपचारको लागि आर्थिक अभाव भएपछि अनिताले सहयोगका लागि समूहमा अनुरोध गरेकी थिइन् । समूहमा आबद्ध भएका सदस्यहरूलाई सहयोगका लागि अनुरोधमा उनीहरूले आफ्नो खाजा खाने पैसा कटाएर सहयोग गरेपछि उक्त रकम सहयोग गर्न सकिएको समूहकी ‘एडमीन’ लक्ष्मी तिवारीले बताइन् ।
यो समूह सामाजिक सञ्जाल ‘फेसबुक’ चलाउने विवाहित महिलाहरूबाट बनेको हो। ‘फेसबुक’ मा रहेको समूह ‘बुहारी ग्रुप अफ नेपाल’ मा करिब १० हजार सदस्यहरू रहेका छन् । विशेषतः कोही पनि महिला वा बालबालिकालाई समस्या परेको भएमा ‘ग्रुप’ को ‘एडमिन’ र ‘मोडरेटर’ हरूले सहयोगको अपिल गरेपछि त्यहाँ रहेका सदस्यहरूले आफ्नो क्षमता अनुसार बैङ्क खातामा रकम जम्मा गर्ने गरेका छन् ।