बुध, असार २५, २०८२
Wed, July 9, 2025

गनगन नगरी मदन र बि.पी.लाई बिर्साउने गरी काम गरौँ : गगन थापा

माघ २३, २०८१

पर्वत : नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले अबको तीन वर्ष गनगन नगरी सरकारले तीव्र रूपमा काम गर्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस पर्वत क्षेत्र (ख) ले जिल्लाको पैयुँ गाउँपालिकाको हुवासमा आयोजना गरेको प्रथम सम्मेलनमा सम्बोधन गर्दै उनले गिरिजाको ३६ महिना, बिपीका १८ महिना र मनमोहनका नौ महिनाका कामलाई बिर्साउने गरी उत्कृष्ट काम गर्नुपर्ने बताएका छन् । देशमा राजनीतिक क्रान्ति सकिएको भन्दै महामन्त्री थापाले अबका तीन वर्षमा जनताले कोही पनि नेताका काण्डहरू नआउने गरी सरकारले काम गर्नुपर्ने सुझाएका हुन् ।
‘गिरिजाका ३६ महिना, बिपीका १८ महिना र मनमोहनका नौ महिना जनताको मनमा कसरी बसेका छन ? हामीसँग त पुरै तीन वर्ष छ । तीन वर्षको समयमा गनगन गरेर होइन गिरिजा र बिपीका कामलाई बिर्साउने गरी काम हुनुपर्छ’, उनले भने, ‘अबको तीन वर्षमा कुनै पनि काण्डको बारेमा जनताले सुन्न नपरोस् । सुनेका काण्डको जरासम्म पुगेर अनुसन्धान होस् । काण्डमा संलग्न बा होस की मामा होस। नयाँ होस की पुरानो होस सबलाई कारबाही होस् ।’
कोहीले सहकारी ठगेको, कोहीले घुस खाएको, कोहीले विदेशमा मान्छे पठाएको स्मरण गर्दै उनले गल्ती गर्ने जो कोहीलाई पनि तुरुन्त कारबाही हुनुपर्ने माग गरे । त्यसो गर्दा आफ्नै पार्टीभित्रका पार्टीभित्रका कैयौँ मान्छेहरू पर्न सक्ने भए पनि त्यो सबैले स्वीकार गर्नुपर्ने तर बचाउमा लाग्न नहुने महामन्त्री थापाको भनाई छ ।
विदेशका लगानीकर्ताहरूलाई लगानीपछिको नाफा लैजान्छ भन्ने डर पालेकै कारण विदेशी लगानीकर्ताहरू नआएको भन्दै उनले कीर्तिपुरको डाँडामा बसेर युवाले २/३ लाख रुपैयाँ मासिक कमाउने गरी सीपको सदुपयोग हुनुपर्ने उनले बताए । हिंसामा रहेको देशबाट अहिलेको अवस्थामा आइपुग्दा सबै कुरा मिल्दै गएको भन्दै महामन्त्री थापाले सबै कुरा बिग्रियो भन्दै हिँड्नेहरूका पछि नलाग्न अनुरोध गरे । ‘सबै कुरा बिग्रियो भन्दै हिँड्ने हो भने अब कहाँको जादुगर ल्याएर काम गरौँ ? नेपालमा जादुगर चाहिन्छ भन्ने सोचले डुबायो’, उनले भने, ‘५०–६० को दशक हिंसामा गयो, ६०– ७० को दशक सङ्क्रमणमा गयो, ७०–८० को दशक संविधानमा गयो अब ८०–९० को दशक काँग्रेसको नेतृत्वमा सबैलाई मिलाएर समुन्नतिको दशक बन्नुपर्छ ।’
समुन्नतिको दशकमा विभेद र गरिबीलाई हटाउँदै नागरिकलाई धनी बनाउने त्यसमा प्रत्येक नेपालीको आय अहिलेको भन्दा तेब्बर हुनुपर्ने, देशको स्तर चार गुणा उठाउने सङ्कल्प हुनुपर्ने, आन्दोलन गर्ने बेलामा सडक प्रयोग गरे झैँ विकासका लागि सरकारको प्रयोग गर्नुपर्ने महामन्त्री थापाको धारणा छ । माओवादी र मधेसवादी दलहरूलाई विगतको जटीले अवस्थामा समेत मिलाएको काँग्रेसले अब पनि उनीहरूलाई सँगै लिएर देशका लागि सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
देशका तीन सय ३० स्थानीय तहमा काँग्रेसको सरकार हुँदा पनि काँग्रेसकै साथीहरूको अनुहारमा हेर्दा निराश भएको देखिनुको कारण सामाजिक सञ्जाल, रेडियो, टिभी, पत्रपत्रिका हेर्दा ‘लौ सबै सकिएछ’ भन्नेजस्तो देखिनु भएको महामन्त्री थापाको तर्क छ । अहिलेको मुख्य समस्या भनेको लाखौँको सङ्ख्यामा रहेकाले तन्नेरीहरूले काम नपाएर निराश हुनु रहेको उनले बताए ।
वर्तमान सरकारको गति राम्रो हुन नसक्नुको कारण भद्दा सरकार भएको उनको तर्क छ।सरकार ठुलो भएपछि काम हुन्छ भन्ने सोच पालेका कारण नै सबैले भद्दा सरकारकै मोह गर्ने महामन्त्री थापाले बताए । काँग्रेसले अब घोषणापत्र लिएर नभई परिणाम पत्र लिएर जनताको माझमा जानुपर्ने भन्दै उनले २०८१ मा काँग्रेसले चुनाव जितेर सत्तामा बसेपछि अबको चुनावमा कार्य प्रगति जनताको माझमा लैजान अनुरोध गरे ।
सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले राम्रा कुरामा कसैले पनि लाईक र कमेन्ट नगरेको भन्दै सामाजिक सञ्जालको प्रयोगमा सचेत रहन कार्यकर्ताहरूलाई अनुरोध गरे ।
नराम्रा कुरामा हररर लाईक गर्दा चटकेहरु यत्तिकै राजनीतिमा आएका भन्दै उनले कसैलाई गाली गर्दैमा राजनीति सफल हुन नसक्ने बताए । नागरिकको एक भोटले गलत व्यक्ति चुनिएमा देशले दुःख पाउने भन्दै केन्द्रीय सदस्य जोशीले भाषण गरेर इतिहास नबन्ने उल्लेख गरे ।
वि.सं. २००७ सालमा काँग्रेसले गरेको आन्दोलनकै कारण अहिलेको लोकतन्त्रको अवस्था आएको भन्दै उनले चटके पार्टीहरूले यो कुरा दाबी गर्न सक्छन ? भन्दै प्रश्न गरे । काँग्रेसले राम्रो काम गर्दा पनि जनताले गाली गरिरहेको भन्दै उनले आफूले गरेका कामहरू जनताका माझमा बताउन नसक्ने बरु गाली खाएर बस्ने व्यवहारका कारण काँग्रेसले गाली खाइरहेको तर्क गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive