पर्वत : नेपाली सेनाको नयाँ रणभीम गुल्मले कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा निर्माण गरेको मन्दिर स्थानीयलाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेना अन्तर्गत पश्चिम पृतना हेड क्वार्टरको निर्देशन र नं. २३ बाहिनी अड्डा बागलुङको प्रत्यक्ष सुपरिवेक्षणमा तथा नयाँ रणभीम गुल्मको नेतृत्वमा मन्दिर निर्माण गरिएको हो । नागरिक सैनिक सम्बन्धलाई अझ मजबुत र प्रभावकारी बनाउन शीघ्र प्रभावी परियोजना अन्तर्गत नेपाली सेनाबाट प्राप्त भएको आठ लाख र नं. २३ बाहिनी अड्डा तथा अन्तर्गतका गण र गुल्महरूको करिब तीन लाख बराबरको श्रमदानमा मन्दिर निर्माण गरिएको हो ।

गत माघ २० गतेबाट निर्माण सुरु भएको मन्दिरको निर्माण पुरा भएसँगै शुक्रवार बराह मन्दिर परिसर निर्माण समितिका अध्यक्ष दुर्गा शर्मा पौडेल सहित उपभोक्तालाई हस्तान्तरण गरिएको हो । मन्दिर परिसरमा निर्माण गरिएको कुलघर मर्मत, स्तरोन्नति, खानेपानीको धारा, शौचालय तथा स्नान गृहको समेत सोही अवसरमा उद्घाटन गरिएको छ ।
नेपाली सेनाको नं. २३ बाहिनी अड्डा बागलुङका बाहिनी पति सहायक रथी जगत् बहादुर पौडेलले नयाँ बनेका संरचनाहरूको उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले नेपाली सेनाले देशको सुरक्षा सँगसँगै नागरिकसँग जोडिएका विभिन्न कार्यक्रमहरूको समेत आयोजना गर्दै आइरहेको बताउनुभयो । मन्दिर निर्माण जस्तै विभिन्न भौतिक संरचनाहरू निर्माणको काम समेत गरेर नागरिकलाई जिम्मा लगाउँदै आइरहेको सेनाले यस्तै कार्यक्रमहरू अन्तर्गत रहेर कटुवाचौपारीको मन्दिर निर्माण गरेको सहायक रथी पौडेलको भनाई छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सेनाले गर्दै आएका गुणात्मक कामहरूको बारेमा प्रशंसा गर्नुभयो । सुरक्षा सँगसँगै नागरिकको माझमा जाने काम गर्नुले सैनिक र नागरिकको सम्बन्ध बलियो बन्ने बताउनुभयो । कार्यक्रममा बोल्दै नयाँ रणभीम गुल्मका गुल्म पति सेनानी सुवास थापा क्षेत्रीले २०६१ सालमा पर्वतमा स्थापना भएको नयाँ रणभीम गुल्मले एकीकरण अभियानदेखि हालसम्म देशको विभिन्न सेवामा खटिरहेको बताउनुभयो ।
नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारीको अलावा सेनाको मूल्य र मान्यतालाई आत्मसाथ गर्दै नागरिक–सैनिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ विभिन्न कार्यहरू गर्दै आइरहेको उल्लेख गर्नुभयो । समय समयमा स्वास्थ्य शिविर, मेडिकल क्याम्प, दुर्गममा हेलिप्याड निर्माण, पार्क तथा सत्तल निर्माण, जनहितका कार्य तथा खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा मन्दिर परिसर निर्माण कार्यमा खटिएको युनिट तथा निर्माण कार्यमा विशेष योगदान गरेका व्यक्तिहरूलाई प्रशंसा, कदर पत्र र नगद पुरस्कार समेत प्रदान गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल, नं. २५ चण्डिका गणका गणपति करणसिंह धामी, सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्वतका प्रमुख विजय पौडेल, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटा, कुश्मा नगरपालिका–९ का वडाध्यक्ष राम शर्मा लामिछाने लगायतको सहभागिता रहेको थियो ।




