पर्वत : भारी वर्षासँगै आएको पहिरो घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।
जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा माथिबाट आएको पहिरोले एक घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्सिया विष्णुमती वि.क. बेपत्ता भएका हुन् । उनीहरूकी बुहारी ३२ बर्सिया पवित्रा बि.क.ले भने भागेर ज्यान बचाएकी छिन् ।
सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् । अहिले बेपत्ता दम्पतीको खोजी कार्य भइरहेको वडा सदस्य सन्तोष बि.क.ले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने बताए । प्रारम्भिक रूपमा आएको सूचनामा घरमा दुई जना रहेको बताइएको र उनीहरू भागेका थिए वा घरभित्र नै परे भन्ने कुराको यकिन जानकारी नआएको उनको भनाइ छ । तर भागेको हुन सक्ने विषयमा कुनै विवरणहरू प्रहरीमा नआएको उनले बताए ।
उद्धारको लागि जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट प्रहरीको टोली जान लागिरहेको भए पनि सड्क अवरुद्ध भएका कारण घट्नास्थलामा पुग्न केही समय लाग्न सक्ने प्रहरीले बताएको छ । सहजै सवारी चलेको अवस्थामा पनि मोदी गाउँपालिकाको केन्द्र पातिचौरबाट एक÷डेढ घण्टाको समय लाग्ने सडक खण्ड अवरुद्ध बनेको छ । अब प्रहरीको टोली हिँडेर घटनास्थलमा पुग्दा तीन÷चार घण्टा लाग्न सक्ने प्रहरी निरीक्षक सापकोटाले बताए ।
शनिवार रातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भारी तथा अति भारी वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।
पहिरोले घर पुरिँदा पर्वतको मोदीमा दुई जना बेपत्ता
साउन ४, २०८२




