बुध, माघ २८, २०८२
Wed, February 11, 2026

एक वर्षमा पर्वत ट्राफिकले उठायो एक करोड १३ लाख राजश्व

साउन २, २०८२

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड १३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ एक करोड ११ लाख सात हजार रुपैयाँ राजश्व सङ्कलन गरेकोमा गत आर्थिक वर्षमा एक करोड १३ लाख २३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । जुन आर्थिक वर्ष २०८०/०८१ को तुलनामा झन्डै दुई प्रतिशत बढी राजश्व सङ्कलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार १२ महिनाका अवधिमा कुल १० हजार आठ सय ३७ वटा सवारीहरूमाथि कारबाही भएको छ । तर कारबाहीको सङ्ख्या हेर्दा गत आर्थिक वर्षमा भन्दा ०८०/०८१ मा एक हजार चार सय २८ वटा बढी सवारीहरूमाथि ‘ट्राफिक’ नियम उल्लङ्घन गरेकोमा कारबाही भएको छ । ०८०/०८१ मा १२ हजार दुई ६५ वटा सवारीहरूमाथि कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख गुरुङले बताए ।

एक वर्षको अवधिमा एक हजार एक सय १० ‘ट्रक’ तथा ‘टिप्पर’बाट नौ लाख ९४ हजार पाँच सय, पाँच सय ६९ वटा ‘बस’ बाट चार लाख ८० हजार, पाँच हजार ९७ ‘कार’ ‘जिप’बाट ५४ लाख ८१ हजार, चार सय ४६ वटा ‘ट्र्याक्टर’ बाट ३४ लाख चार हजार, तीन हजार पाँच सय ५६ ‘मोटरसाइकल’ तथा ‘स्कुटर’बाट ३९ लाख ६६ हजार र ५९ वटा अन्य सवारीहरूबाट ५७ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ ।

महिनागत रूपमा हेर्दा सबैभन्दा बढी राजश्व कात्तिक महिनामा १८ लाख ४८ हजार रुपैयाँ उठेको छ । अन्य महिनाहरू साउनमा पाँच लाख ७५ हजार, भदौमा छ लाख ८५ हजार पाँच सय, असोजमा १० लाख ३४ हजार पाँच सय, मङ्सिरमा नौ लाख ८२ हजार पाँच सय, पुसमा नौ लाख १५ हजार पाँच सय, माघमा नौ लाख २७ हजार, फागुनमा ११ लाख ४९ हजार, चैतमा १२ लाख नौ हजार पाँच सय, वैशाखमा आठ लाख ४४ हजार, जेठमा पाँच लाख ७४ हजार र असारमा पाँच लाख ७८ हजार रुपैयाँ उठेको छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक गुरुङले ‘ट्राफिक’ प्रहरीले ‘ट्राफिक’ नियमको पूर्ण कार्यान्वयनमा जोड दिँदै जिल्लाका हरेक स्थानहरूमा बढाएको सक्रियताका कारण नै गत वर्षको तुलनामा यस वर्ष राजश्व धेरै उठेको बताए । आफूहरूको उद्देश्य राजश्व बढाउनु भन्दा पनि सवारी साधनहरूका लागि तोकिएको मापदण्डहरूमा सञ्चालन गराउनु रहेको भन्दै उनले मापदण्डको उल्लङ्घन गरेकै कारण राजश्व बढेको बताए । ‘ट्राफिक’ प्रहरीको सक्रियता जति बढ्यो उति नै ‘ट्राफिक’ नियमको पालना हुने र त्यसले सडक दुर्घटनामा कमी ल्याउने भएकोले जिल्लाका विभिन्न ‘युनिट’हरूबाट नियमित रूपमा सवारीको ‘चेकिङ’ भइरहेको गुरुङले बताए ।

बजारमा चल्ने सवारीहरूमा मात्रै केन्द्रित नभएर ग्रामीण क्षेत्रबाट सदरमुकाम वा अन्य बजारमा आउजाउ गर्ने तथा नियम मिचेर ग्रामीण क्षेत्रमा मात्रै चल्दै आएका सवारीहरूलाई निगरानी गरेका कारण पनि राजश्व उठ्ने क्रम बढेको कार्यालय प्रमुख गुरुङको भनाइ छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive