साउन ४, २०७८
पर्वत : नेकपा एमालेको युवा सङ्गठन युवा सङ्घ नेपाल पर्वतले जिल्लाभर नै वृक्षारोपण अभियान सुरुवात गरेको छ ।
युवा सङ्घले केन्द्रीय रूपमा वृक्षारोपणका लागि निर्देशन दिएपछि देशका सबै जिल्लामा जस्तै पर्वतमा पनि बिरुवा रोप्ने अभियान सुरु भएको युवा सङ्घ पर्वतका अध्यक्ष थमनारायण पौडेलले बताए । गत शनिवार राष्ट्रिय युवा सङ्घ नेपाल पर्वतका संस्थापक अध्यक्ष मेघनाथ सुबेदीले सदरमुकाम कुश्माको शिवालय माविमा कपुरको बिरुवा रोपेर वृक्षारोपण अभियानको सुरुवात गरेपछि अहिले जिल्लाका सात ओटै स्थानीय तहमा बिरुवा रोप्ने अभियान चलिरहेको उनको भनाई छ ।
‘हामीले सबै स्थानीय तहमा रहेका कमिटीहरूमार्फत सबै पालिकामा बिरुवा रोप्ने अभियान चलाइरहेका छौँ । युवा सङ्घको केन्द्रीय निर्देशन अनुसार देशभर जस्तै पर्वतमा पनि वृक्षारोपण चलिरहेको छ’ उनले भने, ‘जलवायु परिवर्तनको असरलाई कम गर्न तथा वातावरणको संरक्षण गर्दै प्रकृतिमा बाँच्दै आएका सबै प्राणीको हित होस भनेर यो अभियान थालिएको हो ।’
जिल्लाका सबै स्थानीय तहमा गरेर करिब चार हजार बिरुवा रोप्ने गरी काम भइरहेको युवा सङ्घले जनाएको छ । अभियानको पहिलो दिनमा एक सय बिरुवा रोपेपछि साउन महिनाभित्रमा चार हजार बिरुवा रोपिसक्ने भनिएको छ । अभियानका क्रममा विभिन्न फुल, फलफूल र डाले घाँसका बिरुवाहरू पनि रोप्ने तयारी रहेको सचिव नवराज गिरी बताउँछन् ।
बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024