पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिब्बतसँग सिमाना जोडिएको गण्डकी प्रदेशस्थित मुस्ताङको कोरला नाका र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानका विषयमा तिब्बत सरकारसँग कुराकानी गरेका छन्।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री पाण्डेले कूटनीतिक सम्बन्ध, नाका र व्यापारका बारेमा कुराकानी गरेका हुन्। मुख्यमन्त्री पाण्डे एक हप्ताको चीन भ्रमण सम्पन्न सोमबार पोखरा फर्किएका छन्।
भ्रमणका क्रममा उनले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव वाङ जुङजुनसँग भेट गर्दै कोरला नाका नियमित सञ्चालन गरी दुई देशबिचको व्यापार, पर्यटन प्रवर्द्धनका लागि सहकार्यको प्रस्ताव गरेका छन्। तिब्बतको नाका भएर नेपाली र अन्य विदेशीलाई मानसरोवरको यात्रा सहजीकरण गर्ने, चीनका सहरहरूबाट काठमाडौँ पोखरा सीधा उडान थप गर्ने, तिब्बत र गण्डकी प्रदेशबिच लगानी र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सम्बन्ध कायम राख्दै विस्तार गर्ने, नेपाल र चिनियाँ ठुला लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजीकरण गर्ने, पोखराबाट ल्हासा जाने पर्यटकको भिसा र प्रवेश पास उपलब्धतामा सहजीकरण र सहकार्य गर्ने गराउने विषयमा मुख्यमन्त्री पाण्डेले जोड दिएका छन्।
तिब्बत सरकारले विभिन्न समयमा गर्दै आएको सहयोग, चीन सरकारको अनुदान र सहयोगमा निर्माण भएका पूर्वाधारहरू, पर्यटन प्रवर्द्धनका गतिविधिले गण्डकी प्रदेशसँगको सम्बन्ध थप सुदृढ हुनेमा प्रदेश सरकार आशावादी रहेको उनको भनाइ छ।
सिपिसीका महासचिव जुङजुनले कोरला नाकालाई व्यवस्थित गर्ने सन्दर्भमा गण्डकी सरकारको प्रयासबारे आफू जानकार रहेको बताउँदै यो राम्रो सहकार्यको अवसर हुन सक्ने र यसबारे तिब्बत सरकार पनि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
तिब्बत सरकारका तर्फबाट गण्डकी प्रदेश सरकारसँग सधैँ सहकार्य रहने र सम्भावनाहरूका बारेमा सधैँ सकारात्मक रहेको पनि महासचिवले बताएका मुख्यमन्त्री पाण्डेले जानकारी दिएका छन्। महासचिव वाङले दुई देशबिच पर्यटन, कृषि, उद्योग लगायत क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा तिब्बत सरकार सकारात्मक रहेको पनि बताएका छन्। सन २०२३ को नोभेम्बरमा गण्डकी प्रदेशको भ्रमण गरेको स्मरण गर्दै उनले भ्रमणलाई दुवै तर्फबाट निरन्तरता दिँदै सम्बन्धलाई अझै प्रगाढ बनाउँदा सहकार्य गर्न सहज हुने बताएका छन्।
सोही अवसरमा मुख्यमन्त्री पाण्डेसँग सिपिसीका लिन्जी नगर समितिका पार्टी सचिव ओ लिक्वान र उक्त नगरका मेयर बाटाले पनि भेट गरेका छन्। भेटका क्रममा मुख्यमन्त्रीले नेपालको पर्यटन राजधानी पोखरासँग लिन्जी सहरले गर्दै आएको सहयोग र सहकार्यको प्रशंसा गरेका छन्। उनीहरूले दुई सहरबिच पर्यटन, खेलकुद, व्यापार, लगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा द्विपक्षीय छलफल गरेका छन्।
उक्त भ्रमण उपलब्धिमूलक रहेको र यसलाई गण्डकी प्रदेश सरकार र तिब्बत सरकारले निरन्तरता दिने समझदारी भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बताएका छन्।




