बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

कराँते महासङ्घ पर्वतको अधिवेशनबाट राम श्रेष्ठको अध्यक्षतामा नयाँ समिति

साउन २७, २०८२
पर्वत : नेपाल कराँते महासङ्घ जिल्ला कार्यसमिति पर्वतको प्रथम अधिवेशनले राम श्रेष्ठको अध्यक्षतामा चार वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
जिल्ला खेलकुद विकास समिति पर्वतको सभा हलमा सोमबार भएको अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा संविधान गिरी र प्रभा राई (चपाई), सचिवमा सुलभ श्रेष्ठ, कोषाध्यक्षमा नवीन अधिकारी तथा सदस्यहरूमा प्रतिष्ठा लामिछाने, प्रदीप परियार, सागर श्रेष्ठ, रियाना श्रेष्ठ, आशिष नेपाली र ईशान पौडेल रहेका छन् । यस्तै, सल्लाहकारहरूमा जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जङ्गबहादुर पुन मगर सहित किशोर भट्टराई, नरेश श्रेष्ठ, कृष्ण शर्मा र सविन श्रेष्ठ चयन भएका छन् ।
समितिको नयाँ जिम्मेवारी सम्हालेसँगै अध्यक्ष श्रेष्ठले झन्डै २५ वर्षदेखि विभिन्न तरिकाले कराँतेका गतिविधिहरू सञ्चालन गर्दै आएकोमा अब भने पूर्ण वैधानिक रूपमा समिति सञ्चालनमा आएको बताए । विगतदेखि स्रोत र साधनको अभावको बिचमा पनि सङ्घर्षपूर्ण रूपमा खेलको संस्थागत विकासमा काम गर्दै आइरहेको र अब झनै ऊर्जाका साथ खेलको संस्थागत विकासमा लाग्ने श्रेष्ठको भनाई छ ।
कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जग बहादुर पुनले पर्वतबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्न समितिले सबै तरिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खेलाडीका माध्यमबाट जिल्लाको पहिचान गर्न पाउँदा खुसी मिल्ने उनको भनाई छ ।
यस्तै नेपाल कराँते महासङ्घ गण्डकीका अध्यक्ष मनीराज मगरले विगतमा कराँतेलाई आक्रमणकारी खेलका रूपमा मात्रै हेरिएको भए पनि यो एक सभ्य र अनुशासित खेल भएको बताएका छन् । कराँतेको काम कसैमाथि आक्रमण वा प्रहार गर्नुभन्दा पनि अनुशासन र आत्मरक्षा नै प्राथमिकतामा रहेको उनको भनाई छ ।
यस्तै कराँते महासङ्घ नेपालका कोषाध्यक्ष तथा पर्वतमा कराँतेका संस्थापक किशोर भट्टराईले कराँतेको राष्ट्रिय खेलका लागि आवश्यक समन्वय गर्ने बताएका छन् । यस्तै पर्वतबाट कराँतेका पूर्व राष्ट्रिय खेलाडी नरेश श्रेष्ठले आफ्ना स्वर्गीय बुबा र दाजुको नाममा कराँते प्रतियोगिताको आयोजना गरी त्यसको खर्च व्यवस्थापन गर्ने घोषणा सोही अवसरमा गरेका छन् ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पर्वतका सदस्य सचिव जगदीश कुँवर, नेपाल कराँते महासङ्घ गण्डकी प्रदेशका सुलभ श्रेष्ठ, पूर्व खेलाडी तथा सल्लाहकार कृष्ण शर्मा, सदस्य तथा राष्ट्रिय खेलाडी गणेश श्रेष्ठ र इस्विन पौडेल लगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष श्रेष्ठका अनुसार पर्वतका विभिन्न छ वटा डोजोहरुमा करिब दुई सय जना खेलाडीहरू नियमित प्रशिक्षणमा रहेका छन् । यसअगाडि झन्डै १५ सय भन्दा बढी विद्यार्थीहरूले कराँतेको प्रशिक्षण लिइसकेका छन् । तीमध्येका एक सय २५ जनाले कराँतेको डिप्लोमा अर्थात् ब्ल्याक बेल्ट पाएका छन् ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive