पर्वत : गत आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै दुई सय जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षमा कुल एक सय ९४ जना महिलाहरूले गर्भपतन गराएका हुन्। उनीहरूमध्ये एक सय ७६ जनाले औषधिको प्रयोगबाट हुने गर्भपतन विधि अपनाएका छन् भने शल्यक्रियामार्फत ६८ जनाले गर्भपतन गरेका हुन्।
आर्थिक वर्ष २०८० / ०८१ मा अस्पतालबाट कुल दुई सय ४४ जनाले गर्भपतन सेवा लिएकोमा गत आर्थिक वर्षमा भने त्यसको तुलनामा २०.४९ प्रतिशतले कमी आएको हो। आर्थिक वर्ष २०७९ /०८० मा भने कुल एक सय ९९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका अस्पतालको तथ्याङ्क छ।
अस्पतालको सेवा, गोपनीयता, सुविधा लगायतका पक्षबारे थाहा पाइ अस्पतालमा पुगेर सेवा लिनेहरूको संख्या एकतिर भए पनि अस्पतालका बाहिरको अवस्था फरक छ। आफैले औषधि सेवन गरेर, लाज र डरको कारण जिल्ला बाहिर गएर वा निजी क्लिनिकहरूमा पुगेर समेत गर्भपतन गराउनेहरूको एकीकृत तथ्यांक छैन। मान्यता प्राप्त आधिकारिक संस्थामा जानेहरूको संख्या भन्दा अवैध रूपमा गर्भपतन गराउनेहरूको संख्या धेरै रहेको अनुमान छ। अवैध रूपमा गरिने त्यस्ता गर्भपतनको तथ्याङ्क नै एकिन पत्ता लगाउन सकिँदैन।।
अनिच्छित गर्भधारण रोक्न अचेल विभिन्न उपाय छन्। अनिच्छित गर्भधारण हुन नदिनका लागि अपनाउन सकिने उपायबारेमा आधारभूत तहको शिक्षा (कक्षा ६–८) को स्वास्थ्य विषयमा पढाइ हुन्छ। गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा गम्भीर असरहरू देखा पर्न सक्छन् भन्नेबारे सिकाउन स्वास्थ्य संस्थाहरूले पनि विभिन्न जानकारीमूलक अभियानहरू पनि चलाइरहेका हुन्छन्।
तर गर्भपतन गराउनेहरूलाई न त पाठ्यक्रममा समावेश विषयवस्तुले काम गरेको देखिन्छ न त चिकित्सकको सुझावले नै। जिल्लामा औषधी सेवन गराएर गराइने गर्भपतन सेवा ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाले पनि दिँदै आइरहेका छन्।
जिल्लामा गर्भपतनको वैध सेवा दिने मुख्य सेवा प्रदायक पर्वत अस्पताल र मेरी स्वास्थ्य सेवा क्लिनिक हुन्। ग्रामीण क्षेत्रमा रहेका केही स्वास्थ्य संस्थाले पनि सरकारबाट अनुमति पाएर यो सेवा प्रदान गर्दै आइरहेका छन्। तिनीहरूले प्रदान गरेको सेवा यसमा जोडिएको छैन। वैध रूपमा दुई संस्थामा देखिएको तथ्याङ्कबाहेक अवैध रूपमा गरिने गर्भपतन र लाज लुकाउनको लागि सदरमुकाम कुश्मा बाहेक नजिकका दुई सहरहरू पोखरा र बागलुङ पुगेर गर्भपतन सेवा लिनेहरूको संख्या त यकिन नै छैन। औषधी पसलबाट गर्भपतनको औषधि किनेर आफ्नै तरिकाले गर्भपतन गर्नेहरूको संख्या त अनुमान गर्न नै गाह्रो छ।
जिल्लामा रहेको वैध स्वास्थ्य संस्थामा पुगेर गर्भपतन सेवा लिँदा चिनेका स्वास्थ्यकर्मी वा कोही चिनेका व्यक्तिहरू अस्पतालमा भेटिन सक्ने र उनीहरूले गर्भपतनको बारेमा थाहा पाउन सक्ने भयले औषधी पसलबाट आफैले गर्भपतनका औषधि किन्ने तथा जिल्ला बाहिर गएर सेवा लिनेहरूको संख्या धेरै हुने दाबी सरोकारवालाहरू गर्छन्।
गर्भ निरोधक साधनको प्रयोग नगरी गर्भपतनको बाटो रोजिरहेका किशोरी वा महिलाहरूले आफ्नै भविष्यमाथि खेलबाड गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोला बताउँछन्। असुरक्षित रूपमा गर्भपतन गर्दा महिलाको ज्यान खतरामा पर्ने भएकाले सरकारले तोकेको स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीले मात्रै गर्भ पतन गराउन पाउँछन्। नौ हप्तासम्मको गर्भलाई औषधीको प्रयोगबाट सुरक्षित तरिकाले गर्भपतन गराउन पाइन्छ भने १२ हप्तासम्मको गर्भलाई उपकरणको प्रयोगबाट पतन गराउन पाइन्छ।
गर्भवतीको मन्जुरीले १२ हप्तासम्मको गर्भ, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मन्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था छ। कानुनले तोकेको अवधि, प्रक्रिया र स्थानमा नगरेमा महिलालाई समेत सजायको व्यवस्था रहेको छ। त्यस्तै कानुनले भ्रूणको लिङ्ग पहिचान गरी गरिने गर्भपतनलाई पनि अपराध मानेको छ।




