पर्वत : लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाको लोकप्रियता पाएको पर्वत जिल्लामा अब फेरि अर्को लामो र अग्लो झोलुङ्गे पुल थपिने भएको छ।
बागलुङ र पर्वत जिल्लाको सिमाना छुट्टाएको कालीगण्डकी नदी वारपार गर्नको लागि कुश्मा बजारको शिर र पाउसम्म गरेर पाँचौँ नम्बरको पुल निर्माण हुन लागेको हो। यस अगाडि कुश्मा–कैया झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बन्जी जम्पको पुल र शिर्सुवा–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन्।
अब भने कुश्मा नगरपालिका–५ स्थित कुश्माको बन्जी जम्प तथा यान्त्रिक पुल भन्दा केही तल रहेको गुम्बाबाट बागलुङ नगरपालिका–१४ नारायणस्थानको कुकुरगाढेमा जोडिने गरी झोलुङ्गे पुल निर्माणका काम सुरु भएको हो। लामा र अग्ला पुलहरूको सञ्जालमा जोडिएका कुश्मा र बलेवा क्षेत्रलाई जोड्ने गरी चार सय १५ मिटर लम्बाइको पुल निर्माणका लागि निर्माण कम्पनीले प्रारम्भिक अध्ययनको काम समेत हालै पूरा गरेको छ।
नारायणस्थानका वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार आगामी २०८३ पुस मसान्तसम्ममा पुलको निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रा.लि.ले गत असारमा नै ठेक्का सम्झौता गरिसकेको छ। पुलका लागि आधारभूत संरचना तयार गर्न तथा संरचना खडा गर्नका लागि व्यवस्थापन गर्नुपर्ने पूर्व तयारीको बारेमा निर्माण कम्पनीले अध्ययन सकेकोले अब छिट्टै निर्माणको काम सुरु हुने उनले बताए। सङ्घीय सरकारबाट विनियोजन भएको पाँच करोड २६ लाख ८० हजार रुपैयाँको लागतमा उक्त पुल निर्माण हुने छ।
बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मातर्फको क्षेत्रफल ठुलो क्षेत्रफलमा रहेको र यस अगाडि निर्माण भइसकेका पुलहरूबाट सबैले लाभ उठाउन नसकिरहेको बेलामा स्थानीय आवश्यकताको आधारमा जनप्रतिनिधिहरूको पहलमा पुल निर्माण हुन लागेको वडाध्यक्ष खत्रीले बताए। पुलको नजिकमा ठुलो बस्तीको सम्भावना पनि रहेको तथा कालीगण्डकी कोरिडोरको तल्लो भूमिमा राम्रो समथर जमिन समेत रहेकोले पनि पुलले स्थानीयको आयस्रोत बढाउन पनि सहयोग गर्ने उनको भनाई छ।
‘यान्त्रिक पुल, कैयाको पुल, बन्जीको पुलले मात्रै नपुगेकोले यो पुलको आवश्यकता परेको हो। विशेष गरी बागलुङ नगरपालिका–१२, १३ र १४ को मध्य भागमा पर्ने, गाडीको गन्तव्य भएको, कुश्मा बजारको मध्य भागमा जाने भएकोले यो पुल निकै महत्त्वपूर्ण छ’, उनले भने, ‘प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी तथा बागलुङ र कुश्मा नगरपालिकाका प्रमुखहरूको पहलमा निर्माण हुन लागेको पुलले दुई जिल्लालाई जोडेर सेवा लिन तथा व्यापार व्यवसाय सञ्चालन गर्न झनै सजिलो हुने भएको छ।’
अहिलेसम्म बलेवाबाट कुश्मा गन्तव्य बनाएर यान्त्रिक पुल तर्दा एकतर्फीको ८५ रुपैयाँ तिर्ने गरेका छन्। यस्तै कुश्माबाट बलेवालाई गन्तव्य बनाएर तर्नेले एकतर्फीको एक सय १२ रुपैयाँ तिर्ने गरेका छन्। तर यो पुल निर्माण भएपछि यान्त्रिक पुलमा उक्त तिरेर आउजाउ गर्नुपर्ने बाध्यता हट्ने छ।
कैया नागरिक र माथिको पैयुँपाटाका नागरिकलाई आधारमा अन्य पुलहरू भएको भए पनि मध्य क्षेत्रमा रहेकाहरूको लागि यो पुल उपयोगी हुने नारायणमस्थानका वडा सदस्य राजु क्षेत्री बताउँछन्। नजिकमा रहेको यान्त्रिक पुलमा मान्छे भरिएपछि मात्रै चल्ने, चाडबाडमा भीड लाग्दा पालो कुरेर बस्नुपर्ने बाध्यताको पनि अन्त्य हुने तथा कैयाको पुल टाढा भएकोले समस्या भोगेकाहरूलाई यो पुलले सहज बनाउने उनको भनाइ छ।




