न्यूयोर्क : सोमबार नेपालमा भएको जेनजीको प्रदर्शनका क्रममा राज्यका तर्फबाट चरम दमन भएको भन्दै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस समक्ष चिन्ता व्यक्त गरिएको छ ।
परदेशमा बस्ने नेपालीहरूको साझा संस्था एनआरएनए (नन रेसिडेण्ट नेपाली एसोसिएसन) अन्तर्राष्ट्रिय समन्वय परिषद्को तर्फबाट अध्यक्ष माधव मरासिनीले गुटेरेसलाई औपचारिक पत्र लेख्दै नेपालमा भइरहेको शान्तिपूर्ण युवा आन्दोलनमाथि सरकारले गरेको दमनबारे गहिरो चिन्ता प्रकट गरेका हुन् ।
पत्रमा हाल नेपालमा जेनजी युवाहरूले पारदर्शिता, जबाफदेहिता र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलन सुरु गरेको तर सरकारको तर्फबाट वार्ता र संवादको साटो हिंसात्मक दमन गरिएको उल्लेख छ । सुरक्षाकर्मीहरूले ज्यान मार्ने गोली प्रयोग गर्दा धेरै युवाहरू घाइते भएका र केहीले ज्यान गुमाउनुपरेको तथ्य पत्रमार्फत गुटेरेसलाई जानकारी दिइएको छ ।
यसलाई मानवअधिकारको गम्भीर उल्लङ्घन भन्दै, एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसनले संयुक्त राष्ट्र सङ्घलाई तत्काल कदम चाल्न आग्रह गरेको छ । उक्त पत्रमा घटनाको विषयमा विभिन्न चार बुँदे मागहरू राखिएका छन्। जसमा शान्तिपूर्ण प्रदर्शनमा हिंसा र अत्यधिक बल प्रयोग तत्काल रोक्न सरकारलाई दबाब दिनुपर्ने, मृतक र घाइतेहरूमाथि स्वतन्त्र छानबिन गर्न सुनिश्चित गर्नुपर्ने, मानवअधिकार उल्लङ्घन गर्ने जिम्मेवार व्यक्तिहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही गराउनुपर्ने, युवाहरूको जायज माग सम्बोधन गर्न सरकारलाई संवादमा बस्न प्रोत्साहन गर्नुपर्ने रहेका छन् ।
‘नेपाली युवाहरू न्याय, पारदर्शिता र लोकतान्त्रिक मूल्यमा आधारित समाज निर्माण गर्न चाहन्छन् । यस्तो महत्त्वपूर्ण घडीमा संयुक्त राष्ट्र सङ्घले उनीहरूको पक्षमा उभिएर शान्तिपूर्ण आन्दोलन र अभिव्यक्तिको स्वतन्त्रतालाई जोगाउनु जरुरी छ’, अध्यक्ष मरासिनीले लेखेका छन्, ‘वार्ताको बाटो रोज्नुको सट्टा, नेपाल सरकारले सुरक्षा बलद्वारा गोली चलाउने लगायत हिंसात्मक कारबाहीको सहारा लियो । यस्ता कार्यहरूले मानव अधिकारको विश्वव्यापी घोषणापत्र र नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धिहरूद्वारा ग्यारेन्टी गरिएको जीवनको अधिकार, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला लगायतका आधारभूत मानव अधिकारहरूको गम्भीर उल्लङ्घन गर्दछ ।’
जेनजीमाथि भएको दमनबारे अमेरिकाबाट गुटेरसलाई पत्र
भदौ २४, २०८२




