जेन जी आन्दोलनका प्रतिनिधि र नेपाली सेनावीच आज वार्ता हुने संभावना रहेको छ। नेपाली सेनाले वार्ताका लागि पहल लिएपछि वार्ताको तयारी भएको बताइएको छ ।
यद्यपी, वार्ता को को वीच कतिबेला हुने भन्ने चाहिँ बाहिर प्रष्ट आइसकेको छैन । स्रोतहरुले उल्लेख गरेका अनुसार नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वार्ताका लागि समन्वय गरेको छ ।
नेपाली सेनाका प्रतिनिधिहरु जेन जी आन्दोलनका प्रतिनिधिहरुसँग भने हिजोदेखि नै समन्वयमा रहेको छ । त्यसैले, आज अनौपचारिक संवादले तीव्रता पाउने संभावना रहेको स्रोतहरुले उल्लेख गरेका छन् ।
नेपाली सेनाले हिजो नै संवादका लागि आव्हान गरिसकेको छ । साथै, देशवासीका नाममा सम्बोधन गर्दै नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले जेन जी आन्दोलनकारीलाई संयमित हुन संवादमा आउन आग्रह गरेका थिए । त्यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलले पनि जेन जी आन्दोलनकारीलाई संवादमा आउन आग्रह गरेका थिए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि सेनासँग संवाद हुने हिजो नै सामाजिक सञ्जालबाट बताइसकेका थिए । यद्यपी, उनले संसद विघटनको सर्त अघि सारेका थिए ।




