पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको गत दुई महिनामा साढे १५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनमा छ लाख ७२ हजार पाँच सय र भदौमा आठ लाख २८ हजार रुपैयाँ सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङले जानकारी दिए । साउनमा ९१ वटा ट्रक तथा टिप्परबाट ७२ हजार, ३७ वटा बसबाट २६ हजार, तीन सय ४० वटा कार तथा जिपबाट तीन लाख ३० हजार, ४८ वटा ट्र्याक्टरबाट ३५ हजार र एक सय ९५ ओटा मोटरसाइकललाई कारबाही गर्दा दुई लाख सात हजार पाँच सय रुपैयाँ राजश्व उठेको छ ।
यस्तै भदौ महिनामा एक सय आठ वटा ट्रक तथा टिप्परबाट ९२ हजार पाँच सय, ४४ ओटा बसबाट ३७ हजार पाँच सय, तीन सय ८८ ओटा कार तथा जिपबाट तीन लाख ७७ हजार, ४८ ओटा ट्र्याक्टरबाट ३७ हजार, दुई सय ६१ ओटा मोटरसाइकलबाट दुई लाख ८३ हजार पाँच सय र अन्य एक कारबाहीबाट पाँच सय गरी कुल आठ लाख २८ हजार रुपैयाँ राजश्व उठेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले आफ्नो सक्रियता बढाउँदै ट्राफिक नियमको पालनालाई कडाइका साथ लागू गर्दा पछिल्ला वर्षहरूमा राजश्व उठ्ने दर वृद्धि भइरहेको छ ।
सवारी साधनको सङ्ख्या बढ्दै जान्, ट्राफिक नियमको उल्लङ्घन बढ्नु तथा ट्राफिक प्रहरीको सक्रियता पनि बढ्दै जानुले ट्राफिक प्रहरीबाट सङ्कलन हुने राजश्वमा वृद्धि भएको हो । आर्थिक वर्ष ०७९÷०८० मा कुल ११ हजार दुई सय ५० सवारीमाथि भएको कारबाहीबाट ९४ लाख ५१ हजार तथा आर्थिक वर्ष ०८०÷०८१ मा १२ हजार दुई सय ६५ सवारीहरूबाट एक करोड एक लाख १७ हजार रुपैयाँ सङ्कलन भएको थियो ।
जबकि पछिल्ला तीन वर्षमा सबैभन्दा बढी गत आर्थिक वर्ष ०८१÷०८२ मा एक हजार आठ सय ३७ ओटा सवारी साधनहरूमाथि गरिएको कारबाहीबाट एक करोड १३ लाख २३ हजार रुपैयाँ राजश्व उठेको प्रहरी नायव निरीक्षक गुरुङले बताउनुभयो ।