पर्वत : नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभाग मूल्य महाशाखाको आयोजनामा पर्वतको कुश्मामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कुश्मामा रहेका पसलहरूमध्येका मूल्य तथ्याङ्क प्रदायक स्रोत पसल तथा सङ्घ संस्थाहरूसँग शनिवार संयुक्त रूपमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका सहायक प्रबन्धक सुवास पौडेलले सहजीकरण गरेका थिए । सो अवसरमा बोल्दै उनले मुद्रा स्फिर्तीको अवस्था, कारण र परिणामको बारेमा सहभागीहरूलाई जानकारी गराएका छन् । आर्थिक समस्या भोगिरहेका विश्वका केही देशमा पाँच सय प्रतिशत भन्दा बढी मुद्रा स्फिर्ती दर रहे पनि नेपाल भने ठिक अवस्थामा रहेको बताए ।
ठुलो अर्थतन्त्र भएको छिमेकी भारमा दर बढ्दा नेपालमा पनि बढ्ने र घट्दा घट्ने गरेको भन्दै पौडेलले नेपाल र भारतको मुद्रा स्फिर्ती दर पाँच प्रतिशतको वरपर रहिरहेको बताए । बजारमा बस्तुको माग बढ्नुको कारणले मूल्य बढ्ने गरेको र त्यसका लागि राष्ट्र बैङ्कले बजारमा रहेको पैसा खिच्ने गरेको उनको भनाइ छ । नेपालमा आउने विदेशी मुद्राको मुख्य कारण नै वैदेशिक रोजगारी भएको भन्दै सहायक प्रबन्धक पौडेलले मुद्रा स्फिर्तीलाई देशको आर्थिक अवस्था देखाउन, अन्तर्राष्ट्रिय अर्थतन्त्रसँग नेपालको तुलना गर्न मौद्रिक नीतिको तर्जुमा गर्न, सरकारको मौद्रिक नीति तर्जुमा गर्न प्रयोग भइरहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी. पौडेलले व्यपारीहरुको सही सूचनाको आधारमा नै राज्यको अर्थ नीति तयार हुने बताए । कुश्मामा मूल्य सङ्कलनको काम गर्दै आइरहेका शिक्षकहरूलाई व्यवसायीहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले व्यवसायको बिमाका बारेमा आवश्यक नियमको लागि राष्ट्र बैङ्कका कर्मचारीहरूलाई अनुरोध गरे ।
यस्तै, पर्वत उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गोपी अधिकारी, नारायण माध्यमिक विद्यालय कुश्माका सहायक प्रधानाध्यापक विनोद सुवेदीले पनि मुद्रा स्फिर्ती, महँगी नियन्त्रण, आर्थिक नीति लगायतको बारेमा बोलेका थिए । मूल्य सङ्कलक तथा नारायण माध्यमिक विद्यालय कुश्माका शिक्षक समुन्द्र पौडेलको स्वागतमा भएको कार्यक्रमको सञ्चालन राष्ट्र बैङ्कका सहायक प्रबन्धक प्रवीण पुडासैनीले गरेका थिए ।
राष्ट्र बैङ्कको आयोजनामा कुश्मामा अन्तरक्रिया सम्पन्न
कार्तिक २, २०८२




