बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

जलजला गाउँपालिकाका गणित शिक्षकलाई विषयगत प्रशिक्षण 

कार्तिक १६, २०८२
पर्वत : जिल्लाको जलजला गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गणित विषयका शिक्षकहरूका लागि दुई दिने विषयगत प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ ।
कार्यशाला असोज १४ र १५ गतका लागि आयोजना भएको कार्यशाला गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूमा गणित विषय अध्यापन गर्दै आएका शिक्षकहरूको शैक्षिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन समारोह गाउँपालिका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका संयोजक राजु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष दीपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, शिक्षकहरू तथा सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको थियो ।
अध्यक्ष आचार्यले कार्यक्रमको उद्घाटन गर्दै गुणस्तरीय शिक्षा प्राप्त गर्न शिक्षकहरूको भूमिकालाई सबैभन्दा महत्त्वपूर्ण बताउँदै यस्ता प्रशिक्षणहरूले शिक्षण–अधिगम प्रक्रियामा नयाँ सोच र विधि अपनाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले शिक्षा क्षेत्रलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै विषयगत सुधारका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उपाध्यक्ष दीपक आचार्यले विद्यालय स्तरमा गणित विषयप्रतिको डर र जटिलता कम गर्न शिक्षकहरूले विद्यार्थीमैत्री शैली अपनाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले स्थानीय तहबाट शैक्षिक सुधारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यशालामा गणित विषय पढाउने शिक्षकहरूलाई नयाँ पाठ्यक्रमअनुसार प्रभावकारी शिक्षण विधि, गणितीय प्रयोगशाला प्रयोग, अवधारणात्मक अध्यापन, विद्यार्थी सहभागितामूलक अभ्यास तथा मूल्याङ्कन प्रणालीबारे प्रशिक्षण दिइएको शाखाले जनाएको छ । कार्यशालामा सहभागी शिक्षकहरूले आफ्नो विद्यालयमा सिकाइको सुधारका लागि व्यावहारिक प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ । कार्यक्रमको सञ्चालन प्राविधिक सहायक देवी रिजालले गर्नुभएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive