बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026

७३ वर्षमा पनि मौरी मोहमा देउपुरका मौरी बाजे

कार्तिक १८, २०८२

पर्वत : जिल्लाको मोदी गाउँपालिका–१ देउपुरका ७३ वर्षीय टीकाराम जैसी गाउँमा गाउँमा मात्रै होइन जिल्लामा नै ‘मौरी बाजे’ भनेर चिनिन्छन् । उनको जीवनको सबैभन्दा रमाइलो पक्ष भनेको मौरीसँगको सम्बन्ध हुनुले नै उनको पहिचान ‘मौरी बाजे’ मा बदलियो ।

दुई दशकभन्दा अगाडिबाट सुरु गरेको मौरी पालन अहिले उनको पहिचान बनेको छ । त्यसैले त उनी अहिले मौरीको भाषा पनि बुझ्ने भइसकेका छन् । ‘मौरीले दुःख पायो भने रुन्छ, रुनका पनि दुई थरी हुन्छन् । एक हान्ने र अर्को गुहार माग्ने ।’ उनको बोलीमा मौरी पालनको अनुभव, गहिराइ र मौरीप्रतिको प्रेम स्पष्ट देखिन्छ ।

वि.सं. २०५७ सालतिर उनले पहिलो पटक मौरी पालन सुरु गरे। सुरुमा पाँच÷छ लाख रुपैयाँको लगानी थियो। जसले उनलाई नयाँ बाटो खोल्यो । उत्साहका साथ मौरी पालन सुरु गरे पनि उनको जीवन भने सजिलो बनेन । सुन्तला खेती र भैँसी पालनमा लगानी गर्दा ऋणमा डुबेका टीकारामलाई मौरीले नै बाँच्ने आधार भने मौरीले नै दिएको छ । उनी सम्झिन्छन्, ‘त्यो बेला करिब ४० लाख ऋण लागेको थियो । ब्याजको स्याज हुँदै ऋणमा गाडिएको थिएँ । तर मौरीकै कमाइले सबै ऋण तिरेँ, पाँच सन्तान हुर्काएँ, चार जनाको बिहे दान गरेँ र यो घर पनि मौरीकै कमाइबाट बनाए ।’

जीवनमा कहिल्यै हार नमान्ने उनका पाइलाहरू मौरी जस्तै मेहनती छन् । सुरुमा थोरै घार राखेर सुरु गरेका उनले केही वर्षमै एक सय ५० वटा घार एकै पटक व्यवस्थापन गर्न थाले । उनका मौरीका घारहरू दाङ, प्युठान, कास्की, बागलुङ, म्याग्दी र मुस्ताङसम्म बिक्री हुन थाले । एफ.एम. रेडियो, पत्रपत्रिका र लघु उद्यम कार्यक्रममार्फत उनको कामको चर्चा फैलियो । कृषि ज्ञान केन्द्र पर्वतका तत्कालीन प्रमुख वासुदेव रेग्मीले पनि उनको मेहनत र सीपलाई प्रदेश र बाहिर पनि चिनाइदिए । रेग्मी जहाँ पुग्थे, त्यहाँ टीकारामको मौरी पालनको कथा सुनाइन्थ्यो । त्यसैले देउपुरका मौरी बाजे गाउँमा मात्रै होइन, जिल्लाबाहिर पनि चिनिने नाम बन्यो, व्यापारका लागि प्रचारको माध्यम बन्यो ।

मौरीसँगको उनको सम्बन्ध उत्पादन र आम्दानीको मात्रै नभएर आत्मिक पनि छ । त्यसैले त दुःखमा परेको मौरीले गुनासो लिएर उनीसम्म आइपुग्छन् । ‘मौरी रिसायो भने चिलिहाल्छ, तर भुनभुन गर्दै वरिपरि घुम्यो भने उसले गुहार मागेको हो भन्ने जान्नुपर्छ’, जैसीले भने, ‘त्यसपछि म दुई–तीन दिनसम्म त्यसको घार खोज्छु, समस्या पत्ता लगाउँछु र समाधान गर्छु । मौरीको आवाजमा पनि भावना हुन्छ, म त्यो बुझ्न सक्छु ।’

मौरीसँगको आत्मीयताले उनी घारबाहिर पुगेर लामो समय बिताउन नसक्ने भएका छन्। भन्छन्, ‘मौरीको भुनभुनमा बसेको बानीले होला, घर बाहिर गएँ भने पनि असजिलो लाग्छ । मौरी नभए जीवन सुनसान लाग्छ ।’ मौरीसँगको यही प्रेमले नै उनलाई ७३ वर्षको उमेरमा पनि बारीका कान्लामा राखिएका मौरीका घारसम्म तानेको छ । आफ्नै पाइला चाल्न सहारा चाहिने बेला हुन लागेका उनी मौरीलाई हर सम्भव सहारा दिने प्रयास गरिरहेका छन् । अहिले उनी वृद्ध भइसकेका छन्, हातखुट्टा पहिले जस्तो फुर्तिला छैनन् । तर पनि बगैँचामा अहिले ३५ वटा घारको स्याहार उनले गरेका छन् । घारको सङ्ख्या धेरै भएको भए पनि गत बर्खामा घरको आँगनसम्मै आएको केरुङ्गाको विशाल पहिरोले केही घारहरू बगायो । केही अरिङ्गाल र चराले नष्ट गरे । गत वर्ष मात्रै ६० मध्ये ४० घार अरिङ्गालले खाइदिएको जैसीले सम्झिए ।

तर अझै पनि उनी मौरीसँगै रमाउँछन् । अहिलेको अवस्थामा वर्षमा दुई सय किलो जति मह उत्पादन हुन्छ । मह प्रतिकिलोको १५ सय रुपैयाँमा बिक्री हुन्छ । गाउँले सहित पालिका र जिल्लाका विभिन्न कार्यालयका कर्मचारीहरू उनले काढेको महका ग्राहक हुन् । केही वर्ष अगाडि मौरी पालनबाटै वार्षिक १५ लाख रुपैयाँसम्म कमाएका उनको आम्दानीको दर भने पहिलेको जस्तो छैन । जलवायु परिवर्तन, शत्रु जीव र किराको आक्रमण, जग्गा बाँझो रहनु लगायतका कारण मौरी पालनमा कठिनाइ बढ्दै गएको टीकारामको अनुभव छ ।

जीवनको सबैभन्दा ठुलो उपलब्धि उनी मौरीबाटै पाएकोले जुनसुकै अवस्थामा पनि मौरी पालन भने गर्नेमा उनी प्रतिबद्ध छन् । उनले भने, ‘मौरीले मलाई ऋणमुक्त गरायो, सन्तान हुर्कायो र सफल कृषकको इज्जत दिलायो । बुढेसकालमा पनि म यही मौरीकै भुनभुनमा रमाइरहेको छु ।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive