शनि, असार ७, २०८२
Sat, June 21, 2025

कोरोनाविरुद्धको खोप पाउँदा हौसिए शिक्षक

साउन ७, २०७८

पर्वत : ‘हामी एकै दिनमा कति धेरै विद्यार्थीको भीडमा पुगेका हुन्छौँ। एउटा शिक्षकलाई सङ्क्रमण भएमा एकै दिनमा सायौँ विद्यार्थीलाई सर्ने खतरा छ। तर शिक्षकलाई सुरुमा नै खोप दिनुपर्ने थियो, राज्यले अवमूल्यन त गरेकै हो’ कोरोना विरुद्धको भेरोसेल खोप लगाउन स्वास्थ्य कार्यालय पर्वतमा लागेको लाइनमा बसिरहेका सार्वजनिक मावि कटुवाचौपारीका शिक्षक नरनाथ सापकोटा गुनासो पोखे।

‘अझै पनि विद्यार्थीले खोप नपाएसम्म विद्यालय त जोखिमकै क्षेत्र हो। खोप पाएका शिक्षक त केही हदसम्म सुरक्षित होलान् तर विद्यार्थीलाई त जोखिम नै छ’ सापकोटाले चिन्ता व्यक्त गरे।

कुश्मा नगरपालिकाले बिहीबार आफ्नो क्षेत्रभित्रका शिक्षकहरुलाई खोप लगाएको छ। अन्य स्थानीय तहले समय तालिका बनाएर खोप दिइसकेका छन्। खोप लगाउन लाइनमा बसिरहेका धेरै शिक्षकहरू ढिलै भए पनि खोप पाउँदा हौसिएका देखिन्थे। तर उनीहरू सबैको गुनासो थियो की राज्यले अन्तिममा मात्र खोप दियो त्यो पनि आन्दोलन गरेपछि।

शिक्षिका लक्ष्मी बोगटीले खोप पाउँदा जति खुसी लागेको छ त्यो भन्दा धेरै दुःख राज्यले अन्तिम गणनाको अन्तिममा राखेकोमा लागेको बताइन्।

‘विद्यालयमा भीडभाड हुन्छ भन्ने सरकारलाई थाहै रहेनछ जस्तो देखियो। बालबालिकाहरू कमजोर हुन्छन्, तिनीहरूकै भीडमा शिक्षक हुन्छ। शिक्षकबाट विद्यार्थी हुँदै समुदायमा ज्यामितिएय आकारमा सङ्क्रमणको खतरा छ’ उनले भनिन,‘तर आयो, खुसी लागेको छ। ढिलै भए पनि लगाउन पाइयो अब विद्यार्थीले पनि खोप पाए भने विद्यालय क्षेत्र सुरक्षित हुने थियो।’

शिक्षक सङ्घ पर्वतका उपाध्यक्ष तथा नारायण माध्यमिक विद्यालय कुश्माका प्रधानाध्यापक गोविन्द प्रसाद पोखरेलले शिक्षक महासङ्घले खोपको माग गर्दै देशव्यापी रूपमा गरेको आन्दोलनपछि खोप पाइनु दुःखद भएको बताए।

राज्य कोषबाट तलब खाने शिक्षक बाहेकका सबैलाई राज्यले जोखिमको क्षेत्र भनेर सुरुमा नै खोप दिने तर विद्यार्थीको माझमा हेलमेल हुने शिक्षकलाई राज्यले नदेख्नु दुःखद भएको उनको भनाई छ।

आन्दोलनपछि ढिलै भए पनि पाएको खोपले कोरोना रोकथाम तथा नियन्त्रणमा केही हदसम्म भए पनि भूमिका खेल्ने उनले सुनाए।

स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले स्टकमा राखिएका एक हजार डोज खोप कुस्मा नगरपालिकामा रहेका करिब सात सय शिक्षक सहित, अपाङ्गता भएका, व्यापारी र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा आएकाहरूलाई दिइने बताए। भेरोसेल खोप लगाएका शिक्षक सहितका अन्य सबैले पहिलो डोज लगाएको एक महिनामा दोस्रो डोज लगाउन पाउने छन्।

थाहा खबरमा संजय रेग्मीले लेखेको सामग्री साभार गरिएको ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive