पर्वत : शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वतको आयोजनामा युवा विद्यार्थीहरुको सहभागितामा शिक्षा अधिकारको सुनिश्चितता र लैंगिक हिंसा न्यूनीकरणमा युवा विद्यार्थीहरुको भूमिका विषयक बिमर्श कार्यक्रम सम्पन्न भएको छ ।
कुश्मा बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको कार्यक्रममा स्नातक तहमा अध्ययनरत युवा विद्यार्थीहरुले शिक्षा प्राप्त गर्ने हरेक नागरिकहरुको मौलिक अधिकार भएकाले राज्य संयन्त्र र सम्बन्धित निकायहरुले त्यसको सुनिश्चितता गर्न गम्भीर हुनुपर्ने कुरामा जोड दिएका थिए । उनीहरुले शिक्षा अधिकारको संरक्षण गर्दै समाजको कलङ्कको रुपमा रहेको लैंगिक हिंसाको अन्त्य गर्नका लागि पनि आफूहरु सहित सिङ्गो समाज जिम्मेवार भएर लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रमको खुल्ला सत्रमा आफ्ना कुराहरु राख्दै स्नातक तह प्रथम बर्षमा अध्ययनरत छात्रा समीक्षा लामिछानेले संविधानले मौलिक हकका रुपमा प्रवन्ध गरेको माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्न तीनै तहका सरकारहरुले भूमिका खेल्नुपर्ने कुरा बताउनुभयो । उहाँले छोरीहरु र अपांगता भएका बालबालिकाहरुसहित हिंसामा परेका बालबालिकाहरुका लागि विशेष प्रवन्ध गरेर उनीहरुको पढ्न लेख्न पाउने अधिकारको संरक्षण गर्न समाजका सबै निकाय र क्षेत्रले प्रतिबद्धता जनाउनुपर्ने खाँचो रहेको औंल्याउनुभयो ।
यसैगरी युवा छात्र अनिल तिवारीले सभ्य समाज निर्माणको महत्वपूर्ण आधार नै शिक्षा भएकाले सबैलाई शिक्षित बनाउने महाअभियानको थालनी गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सबैलाई शिक्षा दिन सकेमात्र घरपरिवार र समाजमा हुने सबै प्रकारका हिंसालाई अन्त्य गर्न सहज हुने तर्क राख्नुभयो ।
कार्यक्रममा कुश्मा बहुमुखी क्याम्पसका प्रमुख लेखनाथ उपाध्यायले बिमर्श कार्यक्रममा छलफल भएका र उठाइएका विषयहरुलाई गम्भीरतापूर्वक लिएर आ–आफ्नो ठाउँबाट योगदान गर्न ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले एनसिई नेपाल, पर्वतले समय समयमा यस्ता रचनात्मक र सृजनात्मक कामका लागि क्याम्पससँग समन्वय र सहकार्य गरेकोमा धन्यवाद प्रकट गर्नुभयो ।
संबाद कार्यक्रममा कुश्मा बहुमुखी क्याम्पसका अध्यक्ष गोविन्द पहाडी, गैसस महासंघ पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल अपांग उत्थान समाजका अध्यक्ष जगन्नाथ शर्मा, शिवालय बगैंचा शैक्षिक समाजका अध्यक्ष दिपेन्द्र बहादुर भण्डारी, निवृत्त शिक्षक समाजका कोषाध्यक्ष एकनारायण चालिसे, कुश्मा बहुमुखी क्याम्पसका अध्यापकहरु लगायतको उपस्थिति रहेको थियो ।
संबाद कार्यक्रममा एनसिई नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र पहाडी र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक प्रशान्त पौडेलले शिक्षा अधिकारको सुनिश्चितता र लैंगिक हिंसा न्यूनीकरणका लागि युवा विद्यार्थीहरुको भूमिका विषयमा भिन्दाभिन्दै प्रस्तुतीकरण राख्नुभएको थियो । भने उहाँहरुले नै खुल्ला छलफलमा उठेका जिज्ञासाहरुलाई सम्बोधन पनि गर्नुभएको थियो ।
शिवालय बगैंचा शैक्षिक समाजका अध्यक्ष दिपेन्द्र बहादुर भण्डारीले कविताको माध्यमबाट शिक्षा र लैंगिक हिंसाको बारेमा कविता सुनाउनुभएको उक्त कार्यक्रमको अध्यक्षता एनसिई पर्वतका संयोजक आशिष पौडेल र कार्यक्रम सञ्चालन निवर्तमान संयोजक यज्ञप्रसाद शर्माले गर्नुभएको थियो ।




