शनि, माघ १०, २०८२
Sat, January 24, 2026

अपाङ्गता दिवसको अवसरमा एनसिइ पर्वतको आयोजनामा छलफल

मंसिर १८, २०८२

पर्वत : बुधबार परेको ३४ सौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) पर्वतको आयोजनामा एक दिवसिय छलफल सम्पन्न भएको छ ।
सदरमुकाम कुश्मामा समावेशी शिक्षा : वर्तमान अवस्था, चुनौती र सम्भावना विषयमा सरोकारवालाहरुको सहभागितामा छलफल सम्पन्न भएको हो ।
अपाङ्गता भएका नागरिकहरुको सम्मानजनक र मर्यादित जीवनयापन सुनिश्चित गर्नका लागि उनीहरुको शिक्षाको अधिकारमा कुनै पनि बहानामा सम्झौता गर्न नहुने कुरामा कार्यक्रमका सहभागी बक्ताहरुले जोड दिएका छन् । छलफल कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कुश्मा नगरपालिका, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ६ का अध्यक्ष इश्वर गिरीले अपाङ्गता भएका नागरिकका लागि सुरक्षित समाज बाँकी सबै मानिसहरुका लागि स्वतः सुरक्षित हुने भएकाले अपांगताका आधारमा कुनै विभेद नगरी उनीहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । कुश्मा नगरपालिकाले पनि आफ्नो पालिका भित्रका अपांगता भएका बालबालिकाहरुको हितमा अधिकतम काम गर्ने प्रयास गरिरहेको उहाँले जानकारी गराउनुभयो । संविधानको धारा ३१ को मर्मलाई तीनै तहका सरकारहरुले इमान्दारितापूर्वक कार्यान्वयन गर्न सके सबै बालबालिका र अपांगता भएका बालबालिकाको विशेष आवश्यकतालाई पनि सम्बोधन गर्न सकिने गिरीको भनाइ छ ।
साविकको सामाजिक विकास कार्यालय र हाल एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेलले अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षाका माध्यमबाट उनीहरुको सर्वाङ्गिण विकासमा योगदान गर्न सबै सरोकारवाला निकाय र व्यक्तिहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । भौतिक संरचनाहरु अपाङ्गतामैत्री बनाउनुका साथै कक्षा कोठा र सिंगो विद्यालय परिसर अपाङ्गतामैत्री बनाउन सक्ने हो भने अपांगता भएका बालबालिकाको आधारभूत अधिकार र शिक्षाको अधिकारलाई सँगसँगै अघि बढाउन सकिने वातावरण बन्ने उहाँको तर्क थियो ।
कुश्मा नगरपालिका महिला तथा बालबालिका शाखाका अधिकृत चेतकुमारी शर्माले अपांगता भएका नागरिकहरुको अधिकार पनि मानवअधिकारको अंग भएकाले उनीहरुलाई कुनै पनि कारणले विभेद, हेलाहोचो र अपहेलना गर्न नहुने कुरामा जोड दिनुभयो । कुश्मा नगरपालिकाले एनसिई नेपाल पर्वतसँग समन्वय र सहकार्य गरी विगतमा थुप्रै कार्यक्रम गरेको र आगामी दिनहरुमा पनि सहकार्य गर्न नगरपालिका तयार रहेको जानकारी दिँदै विशेष अवस्थाका बालबालिका पहिचान गर्ने, उनीहरुलाई विद्यालयसम्म पुर्याउने र उनीहरुको समावेशी तथा समाहित शिक्षा प्राप्त गर्ने अधिकारलाई स्थापित गर्न नगरपालिकाले साझेदारी वा समन्वयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विषयगत कार्यपत्र प्रस्तुत गर्दै एनसिई नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र पहाडीले पर्वत जिल्लामा रहेका तीनवटा विशेष स्रोत कक्षाहरुले अपांगता भएका बालबालिकाको विद्यालय शिक्षा सुनिश्चित गर्न प्रशंसनीय योगदान गरिरहेको बताउनुभयो । अपाङ्गता भएका बालबालिकाको समावेशी शिक्षा रणनीतिलाई प्रवद्र्धन गर्न जति गर्न सकिन्थ्यो, त्यती काम नभएको भने उहाँको भनाइ छ । उहाँले अपाङ्गता भएका बालबालिकाले भोग्नुपरेका थुप्रै समस्याहरुबारे बोल्दै राज्य, नागरिक समाज र सम्बन्धित सरोकारवालाहरु सचेत र जिम्मेवार हुने हो भने चुनौतीहरुलाई न्यूनीकरण गरेर अपांगता भएका बालबालिकाको शिक्षाको अधिकार व्यवस्थित गर्न सकारात्मक वातावरण सिर्जना गर्न सकिने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीहरुको तर्फबाट सरिता शर्मा, नविना कार्की (भगवती), रुपा पुन मगरलगायतले आफ्ना गुनासा तथा सुझावहरु राख्नुभएको थियो । यस्तै निवृत्त शिक्षक समाजका कोषाध्यक्ष तथा एनसिई पर्वतका सदस्य एकनारायण चालिसे, फुलराज शर्मा लामिछाने लगायतले आ–आफ्ना विचार तथा सुझावहरु प्रस्तुत गर्नुभयो । शिवालय बगैँचा शैक्षिक समाजका अध्यक्ष दिपेन्द्र बहादुर भण्डारी ले अपांगता भएका बालबालिक ले भाेग्ने पीडा तथा परिवार र समाज ले हेर्ने दृष्टिकोण झल्काउने कबिता बाचन गर्नुभएकाे थियाे । गैसस महासंघ नेपाल, पर्वत, नागरिक समाज सञ्जाल, पर्वत र नेपाल अपांग उत्थान समाज पर्वतसँग सहकार्य तथा समन्वय गरी सम्पन्न गरिएको कार्यक्रममा स्वागत मन्तव्य एनसिई नेपाल, पर्वतका संयोजक आशिष पौडेलले राख्नुभएको थियो । कार्यक्रमको औचित्य माथि प्रकाश गैसस महासंघ पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्माले गर्नुभएको थियो । नेपाल अपांग उत्थान समाजका अध्यक्ष जगन्नाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एनसिई नेपाल पर्वतका निवर्तमान संयोजक यज्ञप्रसाद शर्माले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive