पर्वत : विश्वका विभिन्न देशहरूमा रंगमञ्चीय प्रस्तुति र कार्यशाला सञ्चालन गर्दै आएका नेपाली रंगकर्मी तथा सहजकर्ता किरण चापागाईंले थाइल्याण्डमा विशेष कार्यशाला सञ्चालन गर्ने भएका छन् ।
‘थिएटर एक्सप्लोरेसन फर स्पिरिचुअलिटी’ शीर्षकको दुई दिने विशेष कार्यशाला सञ्चालन गर्न लागिएको हो । मालोङ्दु थिएटरद्वारा आयोजित यो कार्यशाला २०–२१ डिसेम्बर २०२५ मा सम्पन्न हुनेछ । कार्यशालाले रंगमञ्चलाई प्रदर्शनको माध्यम मात्र नभई आध्यात्मिक र ध्यानात्मक अभ्यासका रूपमा अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।
यस कार्यशालामा विश्वविद्यालयका प्राध्यापकहरू, विश्वविद्यालयस्तरका अभिनय विद्यार्थीहरू तथा विभिन्न पेशागत पृष्ठभूमिका सहभागीहरू सहभागी हुनेछन् । जसले विविध अनुभव र दृष्टिकोणसहितको सिर्जनात्मक साझा वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।
अनुष्ठान, देह–चेतना र कथा वाचनलाई एकसाथ गाँसेर काम गर्ने चापागाईंले रंगमञ्चलाई आत्मसुन्ने, सम्झने र आफ्नै भित्री स्वरूपसँग पुनः जोडिने माध्यमका रूपमा हेर्दै आएका छन् । श्वास, चाल, स्वर र कथाको प्राचीन परम्पराबाट प्रेरित उनको अभ्यासले प्रदर्शनभन्दा उपस्थितिलाई र प्रयासभन्दा मौनतालाई प्राथमिकता दिने छ ।
कार्यशाला दुई फरक स्थानमा आयोजना हुनेछ । डिसेम्बर २० मा थाई हेल्थ प्रोमोशन फाउन्डेसन लर्निङ सेन्टर (ङाम दुप्ली) को कक्ष ४१३ मा तथा डिसेम्बर २१ मा होस्टबीकेके (पुन्नाविथि) मा कार्यक्रम सञ्चालन हुनेछ । दुवै दिन कार्यशालाको समय बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म रहनेछ ।
सहजकर्ता चापागाईंका अनुसार यो कार्यक्रम रंगमञ्चीय सीप सिकाउनेभन्दा पनि प्रविधिभन्दा पर गएर रंगमञ्च अन्वेषण गर्न चाहने सबैका लागि हो । ‘यो राम्रो अभिनय गर्ने वा तालीका लागि प्रस्तुति दिने विषय होइन’, उनले भने, ‘यो ढिलो हुन, गहिरो रूपमा सुन्न र स्वाभाविक अभिव्यक्तिलाई आफैं प्रकट हुन दिने अभ्यास हो ।’
कार्यशालाको पहिलो दिन शरीर, स्थान र समूहभित्र प्रवेश गर्ने अभ्यासमा केन्द्रित हुनेछ । देह–चेतना, सास र स्वर अभ्यास तथा ध्यानात्मक इम्प्रोभाइजेसनमार्फत सहभागीहरू साझा विश्वास र उपस्थितिको अवस्थातर्फ अग्रसर हुनेछन् । दोस्रो दिन मौनबाट सिर्जनातर्फ उन्मुख हुँदै सहभागीहरूले आफ्ना जीवनअनुभव र भित्री अनुभूतिबाट कथा निर्माण गर्नेछन् । जसलाई अनुष्ठानात्मक रंगमञ्च र साना समूह प्रस्तुतीकरणमा रूपान्तरण गरिनेछ ।
चापागाईंले पदानुक्रमरहित सहजता शैलीलाई जोड दिँदै आफू समूहभन्दा माथि नभई समूहसँगै हिँड्ने बताउँछन् । उनका अनुसार उनको भूमिका सुरक्षित, सम्मानजनक र सहयोगी वातावरण निर्माण गर्नु हो, जहाँ स्वर र मौन दुवैको सम्मान गरिन्छ ।
वर्षको अन्त्यतिर आयोजना हुने “थिएटर एक्सप्लोरेसन फर स्पिरिचुअलिटी” ले सहभागीहरूलाई आत्मचिन्तन र पुनरागमनको अवसर प्रदान गर्नेछ ।
नेपाली रंगकर्मी चापागाईंले बैंककमा रंगमञ्च अन्वेषण कार्यशाला चलाउँदै
पुस ६, २०८२




