यज्ञ प्रसाद शर्मा
पर्वत : शान्ति र सद्भावको अभियानका रूपमा सञ्चालनमा भएको आठौँ पर्वत महोत्सवको १० औँ दिनमा रक्तदान गरिएको छ ।
“समृद्ध पर्वत हाम्रो चाहना” भन्ने नारा सहित आयोजना भएको महोत्सवमार्फत ‘कसैको जीवन बचाउनको लागि कसैको योगदान महत्त्वपूर्ण हुन्छ’ भन्ने सन्देश प्रवाह गर्नको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । शान्ति र सदभावका लागि स्वर्ण जयन्ती वर्ष २०८२ को अवसरमा पर्वत उद्योग वाणिज्य सङ्घद्वारा आयोजना भएको महोत्सवमा सङ्घकै आयोजनामा रक्तदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी पर्वत अन्तर्गतको रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा १० जनाले रगत दान गरेका छन् । रक्तदान कार्यक्रमको संयोजन पर्वत उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष शिव शर्मा पौडेलले गरेका थिए । कार्यक्रममा पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी पौडेलले ‘ब्लड ब्याग’ हस्तान्तरण गरी रक्तदान शुभारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले महोत्सव स्थलमा पनि सामाजिक र पुण्यको काम गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले रक्तदानमा सहभागी तथा प्राविधिक सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी पर्वत शाखालाई धन्यवाद दिए ।
नेपाल रेडक्रस सोसाइटी पर्वत सभापति रुद्र बहादुर रिमालको सहितको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन पर्वत उद्योग वाणिज्य सङ्घका महासचिव एवं प्रचार प्रचार संयोजक खड्ग प्रसाद खनालले गरेका थिए ।
गत पुस ९ गतेबाट सुरु भएको आठौँ पर्वत महोत्सव पुस १९ मा समापन हुँदै छ ।




