बुध, माघ २८, २०८२
Wed, February 11, 2026

७१ वर्षमा पनि नथाक्ने संघर्ष : धौलापहराका सुन्तला कृषक टिकानाथ सुवेदी

माघ ९, २०८२
पर्वत : मानिसले सफलता प्राप्त गर्न आफैँले केही न केही प्रयासहरू गरेको हुनुपर्दछ । तब मात्र गर्न खोजिएको कामबाट सफलता पाउन सकिन्छ । प्रायः मानिसहरू सफल हुनका लागि कोसिस कम गर्ने तर सफलता पाउन नसकेकोमा जीवनभर पछुतो गरिरहेको देखिन्छ । त्यो हरेक क्षेत्र कृषि, व्यवसाय, उद्योग, शैक्षिक वा राजनैतिक आदि जुन सुकै पेसामा हुने गर्दछ । सफलता त्यो मानिसलाई मात्र प्राप्त हुन्छ जसले निरन्तररुपमा आफूले गरेका कर्मलाई अरूले भन्दा फरक तवरबाट गर्न सकेको होस ।
काम त त्यही हो, तर फरक तरिका अपनाउँदा सफल भइने रहेछ भन्ने कुराको विश्वास गर्छन् पर्वतको जलजला गाउँपालिका – ५ लेखफाँटस्थित धौलापहारका अग्रज कृषक टिकानाथ सुबेदी । जीवनको ७१ औ वसन्त पार गरिसकेका उनी आज पनि जवान युवाको जस्तो हिम्मत र साहसका साथ व्यावसायिक रूपमा कृषि कर्ममा सफलरुपमा लागिरहेका छन् । ‘धौलापहरा सुन्तला फर्म मार्फत वार्षिक लाखौँ रुपैयाँ आम्दानी उनले गरिरहेका छन् । करिब चार सुन्तलाको बोट र कफीका का सयौँ बोटहरूबाट नगदे बालीका रूपमा आम्दानी गरिरहेका कृषक टिकानाथलाई सुरुवाती चरणमा भने सोचे जस्तो सहज भएन ।
भिरालो जमिन, साना साना गरा, बिजुली बत्ती र मोटर बाटोको असुविधाकाबीच करिब २०÷२५ वर्ष अगाडी उनले सुन्तला खेती सुरु गरे । त्यो बेलामा जिल्लाका ग्रामीण बस्तीहरूमा प्राय धान, कोदो, मकै तथा गहुँलाई मात्र प्रमुख खेतीका उत्पादन गर्ने गरिएको थियो । निर्वाहमुखी परिवेशकाबीच कृषक सुवेदीमा नवीन र प्रयोगात्मक सोचको विकास भयो । जसले उनमा केही उद्यम वा उत्पादनसँग जोडिएर नयाँ काम गर्न जोस आयो ।
हुन त उनी कृषि कर्मसँगै सामाजिक एवं राजनीतिक व्यक्ति पनि हुन् । पञ्चायत विरुद्धको आन्दोलन चलिरहँदा तत्कालीन  अवस्थामा विभिन्न राजनीतिक दलका नेताहरूलाई घरमा नै वास दिए । प्रजातन्त्रको उदयपश्चात् भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन लेखफांट गा.वि.स.को वडा न. १ को अध्यक्ष पनि भए । सोही समयमा उनले गाविसमा अनुरोध गरी कृषि भ्रमणको योजना गराइ पाल्पा जिल्लाका विभिन्न ठाउँमा आफू लगायत अन्य किसानलाई लिएर गए । भ्रमणले सुन्तला खेती गर्ने योजनाको विकास भयो । फलतः उनले सोही योजना अनुरूप सुन्तला तथा कफीका बिरुवा राम्रो धान उत्पादन हुने खेतमा धमाधम रोपे ।
उनलाई चौतर्फी रूपमा समुदाय र परिवारबाट पनि सहयोग सोचे जस्तो प्राप्त भएन । ‘धान रोप्ने खेतमा सुन्तला लगाएर भोलि के खाने हो ?’, ‘परिवार कसरी चलाउने हो ?’, ‘सुन्तला कफी लगाएर कसरी चल्न सकिन्छ ?’ जस्ता प्रश्नहरू उनले झेले । यी प्रश्नले नैराश्य ल्याउन खोजेको तथा सहयोगको अवस्था नहुँदा पनि उनमा निराशा र विचलन भने आएन । बरु उनी निरन्तर कर्ममा लागिरहे । ग्रामीण क्षेत्रमा जीवन निर्वाह गर्न सबैले कृषि कर्म गरे पनि आफूले फरक र चुनौतीपूर्ण भए पनि सफल बनाएर छाड्ने अठोट सुवेदीले गरे ।
मानिसमा केही गर्ने सोच मनैदेखि आएपछि निरन्तर सकारात्मक सोचबाट परिचालित हुन सके सफलता पाउन कठिन हुँदैन भन्ने एक सफल उदाहरण टिकानाथ बनेका छन् । विभिन्न असहजतालाई निरन्तरको मिहिनेत र परिश्रमबाट सहजतामा रूपान्तरण गर्दै, पारिवारिक जीवन सफल बनाउँदै उनी अगाडी बढिरहेका छन् । उनी सफल हुनमा उनकी  जीवनसंगिनी सिता कुमारी सुबेदीको पनि ठुलो योगदान रह्यो । उनीहरूको परिवारमा जुन खुसी आज मिलेको छ त्यो ल्याउनका लागि निकै मेहनत गर्नु परेको थियो । ‘मिहिनेतको फल मिठो हुन्छ’ भने झैँ आज घरमा बसी बसी लाखौँको सुन्तला तथा कफी बिक्री गर्न पाउँदा कृषक सुवेदी खुसी छन् ।
नगदे बालीमा सुन्तला राम्रो खेती हो । ग्राहकहरू नै आएर बगान नै खरिद गरी आफैँ खरिद गर्दा बजारीकरणमा समस्या नभएको उनले बताए । भौगोलिक रूपमा पनि त्यो जमिन सुन्तलाको लागि उपयुक्त रहेको कृषि प्राविधिकहरू बताउँछन् । स्वाद र उत्पादनमा मिठोपना रहेकोले विक्रीको कुनै समस्या नरहने खरिदकर्ताहरू बताउँछन् ।
अग्रज कृषक टिकानाथको यो कृषि यात्रामा आजभोलि बस्तीका सबै अन्य किसानहरूले पनि साथ दिएका छन् । सुरु उनीबाट भए पनि बिस्तारै गाउँ नै सुन्तला र कफीको केन्द्र बन्दा सुवेदीको मन खुसीले गद्गद छ । उनले सबै छिमेकीहरूलाई पनि सुन्तला उत्पादनका लागि बिरुवा मगाउने, लगाउन सिकाउने, आवश्यक सहयोग गर्दै आएका छन् । उनको चाहना भनेकै ‘सबै किसानले हावापानी सुहाउँदो उत्पादन गर्न सकुन्’ भन्ने छ । नयाँ सोचका साथ अभ्यास गर्दा उनी सहित अन्य कृषकहरू पनि धौलापहरा क्षेत्रमा सुन्तला र कफी उत्पादनमा लोकप्रिय र सफल बनेका छन् ।
प्रविधि र प्राविधिकको सहयोगमा उन्नत तरिकाले उत्पादन गर्दा कृषिमा जोडिन सहज भएका त्यहाँका कृषकहरूको अनुभव छ । रोजगारको खोजीमा वैदेशिक रोजगारीमा पुगेर परिवारबाट टाढा रहनुभन्दा माटो र हावापानी सुहाउँदो व्यावसायिक खेतीमा जोडिँदा स्वरोजगार बन्ने सकिने कृषक सुवेदीको सुझाव छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive