पर्वत : पर्वतको कुश्मा नगरपालिकाले शैक्षिक सत्रको अन्त्यमा सञ्चालन गर्दै आएको पालिका स्तरीय वार्षिक परीक्षा यस वर्ष पनि सबै विद्यालयमा एकै मितिमा एकै प्रश्नपत्रमार्फत सञ्चालन गर्ने तयारी सुरु गरेको छ ।
मंगलबार बसेको नगर स्तरीय वार्षिक परीक्षा समितिको बैठकले कक्षा ४ देखि ९ र कक्षा ११ सम्मको वार्षिक परीक्षा आगामी चैत ८ गतेदेखि १७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा परीक्षा एकरूपताका साथ सञ्चालन गरिनेछ । नगर शिक्षा शाखाका अनुसार कक्षा ४ देखि ९ सम्मका विद्यार्थीका लागि परीक्षा तालिका गर्ने तयारी भइरहेको छ । कक्षा ११ को परीक्षा भने आगामी जेठ महिनामा सञ्चालन हुने छ ।
कक्षा ८ को परीक्षा भने आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) समितिले सञ्चालन तथा व्यवस्थापन गर्दै आएकोले सो कक्षाको परीक्षासम्बन्धी निर्णय हालसम्म नभएको परीक्षा समितिले जनाएको छ । कक्षा ८ को परीक्षा सञ्चालनका लागि चाँडै बैठक बोलाई निर्णय गरिने नगर स्तरीय वार्षिक परीक्षा समितिका संयोजक तथा कुश्मा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा ८ को उत्तरपुस्तिका परीक्षण कार्य नगरपालिकामै गरिनेछ । त्यस्तै कक्षा ४, ५, ६, ७ र ९ को उत्तरपुस्तिका परीक्षण भने सम्बन्धित विद्यालयमै गरेर नतिजा EMIS प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाले परीक्षा मर्यादित, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी अघि बढाइसकेको जनाएको छ ।




