पर्वत : पर्वत जेसीजका अध्यक्ष शर्मिला शर्माको जन्मदिनको अवसर पारेर पर्वतको महाशिला गाउँपालिकाका तीन वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको छ ।
करिब एक महिना अघि मात्रै पर्वत जेसीजको अध्यक्ष पदमा पदस्थापन हुनुभएकी शर्माले त्यसयताका कार्यक्रमहरूमध्येको एक महत्त्वपूर्ण कार्यक्रमका रूपमा शैक्षिक सामग्री वितरण गरेकी हुन् । फलामखानी घन्तरीस्थित सरस्वती आधारभूत विद्यालयमा भएको कार्यक्रममा उक्त विद्यालयका ३२ जना विद्यार्थी विद्यार्थीहरूलाई शैक्षिक सामग्री अन्तर्गत झोला, कपी, कलम सहित विद्यालयको सरसफाइ व्यवस्थापनको लागि डस्टबीन तथा मदन आश्रित माध्यमिक विद्यालय र फलामखानी आधारभूत विद्यालयका ५÷५ जना बिद्यार्थीहरुलाई गरी ४२ जना बिद्यार्थीहरुलाई झोला, कपी र डट पेन वितरण गरिएको हो ।
जिल्लाको ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई सहयोग गर्दा उनीहरूमा सिकाइप्रतिको प्रोत्साहन बढ्ने भएकोले सदरमुकाम आसपासका विद्यालय छाडेर टाढा रहेको गाउँको विद्यालयमा पुगेको अध्यक्ष तथा सहयोगदाता शर्माले बताइन् । कार्यक्रममा जेसीजका पदाधिकारीहरू तथा सदस्यहरू, पूर्व अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सरस्वती आधारभूत विद्यालयकी प्रधानाध्यापक दुर्गा कुमारी के.सी लगायतले सहयोगदाता शर्मा र पर्वत जेसीजको सिङ्गो परिवारलाई धन्यवाद ज्ञापन गरिन् । ग्रामीण क्षेत्रका दूर दराजमा रहेका बालबालिकाहरूको समस्यामा धेरैको ध्यान जान नसकेको बेलामा पर्वत जेसीजले गरेको सहयोग महत्त्वपूर्ण भएको उनीहरुको भनाइ छ । पर्वत जेसीजका अध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा भएको कार्यक्रम महासचिव रामचन्द्र सुवेदीले सञ्चालन गरेका थिए ।
सोही कार्यक्रमको सन्दर्भमा पर्यटन प्रबद्र्धनका लागि पर्वत जेसीजको टिमले महाशिला गाउँपालिकाको पर्यटकीय स्थल फलामखानी डाँडा, पिकनिक स्पट र फलामखानी उत्खनन गरिएको रनेमने फलाम खानीको अवलोकन भ्रमण समेत गरेको छ । कार्यक्रममा महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा बि.क., प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे, वडाध्यक्ष गोविन्द बि.क, लगायतको पनि सहभागिता रहेको थियो ।
जन्मदिनको अवसरमा जेसीज अध्यक्ष शर्माद्वारा महाशिलाका विद्यार्थीलाई सहयोग
माघ २१, २०८२




