पर्वत : पर्वतको महाशिला गाउँपालिकामा तीन दिने व्यावसायिक भेडा÷बाख्रा पालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा माघ १९ गतेदेखि २१ गतेसम्म लुंखु देउरालीमा उक्त तालिम सञ्चालन गरिएको हो । तालिमको समापन समारोह गाउँपालिकाका उपाध्यक्ष धनसुवा बि.क.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो ।
समारोहमा पशुसेवा शाखा प्रमुख रामचन्द्र पौडेल, पशु विकास अधिकृत रामकृष्ण सुवेदी तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका कार्यालय प्रमुख सुरेश कुमार श्रेष्ठको अध्यक्षता रहेको थियो । तालिममा पर्वत जिल्लाका महाशिला, बिहादी र पैयु गाउँपालिकाका २५ जना व्यावसायिक बाख्रा पालक कृषकहरूको सक्रिय सहभागिता रहेको थियो । तालिममार्फत सहभागी कृषकहरूलाई आधुनिक तथा वैज्ञानिक ढंगबाट भेडा÷बाख्रा पालन, रोग व्यवस्थापन, आहार व्यवस्थापन र व्यवसायिक सम्भावनाबारे जानकारी प्रदान गरिएको छ ।
कार्यक्रम सञ्चालन पशु प्राविधिक प्रकाश परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य पशु विकास अधिकृत रामकृष्ण सुवेदीज्ले राख्नुभएको थियो । तालिम समन्वयकको भूमिका गणेश रिजालले निर्वाह गर्नुभएको थियो ।
समापन समारोहमा वक्ताहरूले यस्ता तालिमहरूले कृषकहरूको आयआर्जन वृद्धि गर्न र पशुपालन व्यवसायलाई व्यावसायिक तथा दिगो बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
तीन दिने व्यावसायिक भेडा/बाख्रा पालन तालिम सम्पन्न
माघ २२, २०८२




