पर्वत : पर्वतको महाशिला गाउँपालिका पर्वत र प्रदेश अस्पताल कुश्मा पर्वतको सहकार्यमा महाशिला आधारभूत अस्पतालमा बालरोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
उक्त शिविरमार्फत महाशिला गाउँपालिकाका एक सय सात जना बालबालिकाले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा प्रदेश अस्पताल कुश्मा पर्वतका बालरोग विशेषज्ञ डा. प्रकाश गौतम सहितको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो । बालबालिकाको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको यस शिविरले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ ।
शिविरमा स्वास्थ्य परीक्षण तथा बृद्धि मूल्याङ्कन, ज्वरो, रुघा खोकी, एलर्जी, दम, झाडापखाला, खाना नरुच्ने, खोप, बच्चाको श्वासप्रश्वास सम्बन्धि उपचार तथा परामर्श, जन्मजात जन्डिस तथा पछि देखिएको जन्डिसको उपचार, बालबालिकाहरुमा हुने निमोनियोको परामर्श, शिशुको आहार तथा पोषण सम्बन्धि जानकारी, बालबालिकामा हुने सङ्क्रमणको परामर्श, किशोरावस्था सम्बन्धि परामर्श सहित अभिभावकहरुलाई पनि स्वास्थ्य परामर्श गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियार शिवले बताउनुभयो ।
ग्रामिण क्षेत्रमा रहेका बालबालिकाहरुमा स्वास्थ्य समस्या भए पनि बिभिन्न बाध्यताबस उनीहरु विशेषज्ञ चिकित्सकसम्म पुग्न नसकेको अवस्थामा स्वास्थ्य जटीलता बढ्दै जाने भएकोले यो शिविर राखिएको हो । एक दिका लागि मात्रै भए पनि आयोजना हुने यस्ता विशेषज्ञ स्वास्थ्य शिविरले ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधार गर्न सहयोग पुग्ने अध्यक्ष परियारको भनाई छ । शिविर सफल बनाउन योगदान पु¥याएकोमा महाशिला गाउँपालिकाले प्रदेश अस्पताल पर्वत र बालरोग विशेषज्ञ डा. गौतम तथास्वास्थ्यकर्मीको टोलीप्रति आभार व्यक्त गरेको छ ।
महाशिलामा पुगेर प्रदेश अस्पताल पर्वतको सेवा प्रदान
माघ २६, २०८२




