पर्वत : बुधबार परेको अन्तराष्ट्रिय युवा दिवस– २०२६ को सन्दर्भमा कुश्मामा युवा जागरण कार्यक्रम सम्पन्न भएको छ ।
निःशुल्क, गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ भन्ने मूल ध्येयका साथ नेपालको सार्वजनिक शिक्षालाई सुधार तथा सवलीकरण गर्नका लागि नागरिक स्तरबाट जनवकालत, पैरवी सहित अभियान चलाइरहेको संस्था शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) को आयोजनामा कार्यक्रम गरिएको हो ।
‘भिन्न परिवेश, साझा आकांक्षा’ नाराका साथ युवाहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत दीपक सुवेदीले मुलुकको समृद्धि, विकास र समग्र रुपान्तरणमा युवा पुस्ताले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले समयको मागलाई आत्मसाथ गर्दै युवाहरु संयमित ढंगले अगाडि बढ्नुपर्ने बताए । उनले शिक्षित र दीक्षित युवाले मात्र मुलुकलाई हाँक्न सक्ने सामथ्र्य राख्ने भएकाले जीवनोपयोगी र बजारको माग अनुरुपको शिक्षा लिन युवा पुस्ता गम्भीरतापूर्वक लाग्नुपर्ने कुरामा जोड दिए ।
यस्तै एनसिई नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र पहाडीले दीगो विकास लक्ष्य चार सहितका लक्ष्यहरु प्राप्त गर्दै नेपालको आमूल परिवर्तनको नेतृत्व गर्न युवाहरुले आफूलाई इमान्दार, अनुशासित, शिक्षित, उत्तरदायी र असल शासनका पक्षमा निर्भिकतापूर्वक उभ्यानुपर्ने खाँचो औंल्याए । समाजले युवा पुस्ताबाट धेरै कुराको अपेक्षा र भरोसा राखेको हुनाले युवाहरुलाई अनैतिक र छाडा बन्ने छुट नभएको तिर ध्यानाकर्षण गर्दै उहाँले समग्र युवाहरुलाई सिर्जनशील, उत्पादक र श्रममा जोडिन आग्रह गरे ।
कार्यक्रममा कुश्मा बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य विष्णुप्रसाद नेवार, गैरसरकारी संस्था महासंघ पर्वतका सचिव बलीनारायण रेग्मी, मिलन क्लबका बरिष्ठ उपाध्यक्ष कृष्ण गिरी, एनसिई नेपाल पर्वतका निवर्तमान संयोजक यज्ञप्रसाद शर्मा, एनसिई नेपाल पर्वत युथ क्लष्टरका सदस्य गणेश पौडेल, दृष्टिविहीन समाज पर्वतका अध्यक्ष हरीदत्त शर्मालगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
युवा जागरण कार्यक्रमको सञ्चालन एनसिई पर्वतका सचिव भिमबहादुर नेपालीले गरेका थिए भने अध्यक्षता एनसिई नेपाल पर्वतका संयोजक आशिष पौडेलले गरेका थिए ।
- यज्ञप्रसाद शर्मा




