मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

खेलकुद विकास समिति र एकीकृत सेवा कार्यालयबीच समन्वय बैठक

अशोज ६, २०८३

पर्वत : एकीकृत सेवा कार्यालय, पर्वत र जिल्ला खेलकुद विकास समितिबीच जिल्लामा खेलकुद गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विषयमा अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकमा जिल्लामा सञ्चालन हुने खेलकुद गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने तथा खेलकुदसँग सम्बन्धित संघ–संस्थालाई आवश्यकताअनुसार प्राविधिक तथा आर्थिक सहयोग र सहजीकरण गर्ने विषयमा छलफल भएको छ । खेलकुद क्षेत्रको विकासका लागि सम्बन्धित निकाय तथा संघ–संस्थाबीच नियमित समन्वय र सहकार्यलाई प्राथमिकता दिने विषयमा समेत जोड दिइएको छ ।
बैठकमा एकीकृत सेवा कार्यालय, पर्वतका कार्यालय प्रमुख जीवन पौडेलले जिल्लाको खेलकुद क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित संघ–संस्थासँग समन्वय तथा सहकार्य गर्दै अघि बढ्न कार्यालय इच्छुक रहेको बताए । उनले खेलकुदका माध्यमबाट जिल्लामा रहेका प्रतिभावान खेलाडीको पहिचान, विकास र प्रोत्साहनका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे ।
जिल्ला खेलकुद विकास समिति, पर्वतका अध्यक्ष जंगबहादुर पुन ‘बुद्ध’ ले पर्वतमा खेलकुद गतिविधिलाई थप विस्तार गर्दै प्रतिभावान खेलाडीको प्रतिभा उजागर गर्न सबै पक्षको हातेमालो आवश्यक रहेको बताए । उनले गण्डकी प्रदेश खेलकुद परिषद्सँगै एकीकृत सेवा कार्यालय, पर्वतले खेलकुद क्षेत्रको विकासका लागि गरेको पहलको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति, पर्वतका उपाध्यक्ष राजन गुरुङ, सचिव सपना पुर्जा पुन र कोषाध्यक्ष जगत लामिछानेले खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तारका विषयमा आफ्ना धारणा राखे । वक्ताहरूले जिल्लामा खेलकुदको विकाससँगै नयाँ प्रतिभाको पहिचान र प्रोत्साहन गर्न सके पर्वतका खेलाडीले प्रदेश तथा राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको पहिचान अझ फराकिलो बनाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।
बैठकले खेलकुद क्षेत्रको विकासका लागि सरकारी निकाय, खेलकुद समिति तथा सम्बन्धित संघ–संस्थाबीच समन्वय र सहकार्यलाई थप सुदृढ गर्ने वातावरण निर्माण गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुनले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive